धुलिखेल अस्पतालले थप्यो नयाँ सेवा र प्रविधी

बाँझोपन र क्यान्सरको उपचार धुलिखेलमा नै, ओठ तथा तालु चिरिएकालाई निशुल्क शल्यक्रिया
नौलो समाचार संवाददाता
२०८१ अषाढ ३, सोमबार मा प्रकाशित ५६४ पटक पढिएको
धुलिखेल अस्पतालले थप्यो नयाँ सेवा र प्रविधी

धुलिखेल । धुलिखेल अस्पतालले विभिन्न विभागमा सेवा र प्रविधी थप गरेको छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य राखेको अस्पतालले विश्वस्तरीय प्रविधी र सेवा शुरु गरेको हो ।

अस्पतालमा मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थालिएको छ । हाल दन्त, हाडजोर्नी र नाक, कान, घाँटी विभागमा प्रयोगमा ल्याइएको प्रविधीमा शरीरभित्रको प्रभावित भागको ठ्याक्कै प्रतिलिपी उतार गरेर उपचार (विशेषतः शल्यक्रियाजन्य) गर्न पाउँदा सेवाको गुणस्तर बढेको डेन्टल सर्जन प्रा.डा. दशरथ काफ्लेले जानकारी दिए । उनका अनुसार, ५ वटा थ्रिडी प्रिन्टरमार्फत सेवा दिइरहेको छ । उनले यो सेवा नेपालमा पहिलो भएको दाबी गरे । विगतमा नाङ्गो आँखा, शारीरिक परीक्षण एवं एक्सरे, सीटी स्क्यानमा भर परेर सेवा दिनुपर्ने सिमितता थियो । थ्रिडि प्रिन्टिङ सेवा पछि शल्यक्रियाको समय कम लाग्नुका साथै उपचार पनि गणुस्तरीय हुने अस्पतालको तर्क छ ।

अस्पतालको स्त्रीरोग विभाग अन्तर्गत बाँझोपनको समस्या भएका दम्पतीलाई मध्यजनर राख्दै आईयूआई (ईन्ट्रायुटेराइन इन्सेमिनेसन) सेवा पुनः सुचारु गरिएको छ । आईयूआई प्रविधि अन्तर्गत पुरुष वीर्यलाई पाठेघरमा राखिन्छ । टेष्ट ट्युब प्रविधी भन्दा निकै कम खर्च र कम झन्झटमै गर्न सकिने यस प्रविधीबाट काभ्रे जिल्ला र आसपासका सेवाग्रहीहरु लाभान्वित हुने स्त्री रोग विशेषज्ञ डा. रुपेश सिंह बस्न्यातले जानकारी दिए ।

अस्पतालमा नाक, कान, घाँटी विभाग अन्तर्गत ‘कक्लियर इम्प्लान्ट (कान नसुन्नेका लागि प्रविधिजन्य जडान)’ सेवा सुरु गर्न लागिएको नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा. डा. विकासलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, विभागले सन् २०१७ देखि १९ हजार भन्दा बढी बालबालिको श्रवण जाँच गरिसकेको छ । कान कम सुन्ने बिरामीका लागि आवश्यक हियरिङ एड्सम्बन्धी सम्पूर्ण सेवा दिइँदै आएको अस्पतालले श्रवण पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याउदैछ । सुनाइ कम भएका मानिसलाई श्रवण राम्रो होस् भन्नको लागि उपकरणहरु प्रदान गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । अस्पतालले १२ बर्षको अवधीमा विना चिरफार, दुरविन प्रविधीबाट हालसम्म ४ हजार जनाको कानको शल्यक्रिया गरेको र ९५ प्रतिशत सफल भएको पनि उनले जानकारी दिए ।

क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार धुलिखेल अस्पतालमा शुरु भएको प्रा.डा. बलराम मल्लले जानकारी दिए । उनका अनुसार, स्त्रीरोग, पेट, हाडजोर्नी, छाती, फोक्सो, मृगौला, नाक, कान, घाँटीको क्यान्सर सम्बन्धी निदान, शल्यक्रिया, केमोथेपारी, फिजियोथेरापी, परामर्श लगायका सम्पूर्ण सेवा प्रदान गरिरहेको छ । क्यान्सरको आशंका गरिएका विरामीको अपरेशनको बीचमै मासु जाँच गरेर क्यान्सर रोग निदान गर्ने प्रविधि (फ्रोजन सेक्सन) लगायतका नयाँ प्रविधी र जनशक्ति उपलब्ध रहेको प्याथोलोजिष्ट डा. रमेश माकजूले जानकारी दिए ।

प्रयोगशाला परिक्षण अन्तरर्गत पनि विभिन्न प्रविधी र सेवा भित्राएको छ । हेमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमेष्ट्री परीक्षणमा अत्याधुनिक सेवाहरु थप गरेको अस्पतालले डीएनए परीक्षण, जेनेटिक डिस्अडर, प्रजनन क्षमताको जाँच लगायत विगतमा भारत पठाउन पर्ने कतिपय परिक्षण अहिले अस्पतालकै प्रयोगशालामा सम्भव भएको बायोकेमेष्ट्री विभागमा कार्यरत डा. ज्योती श्रेष्ठले जानकारी दिए ।

धुलिखेल अस्पतालमा दीर्घकालीन दुखाइ प्रताडितहरुका लागि ‘डेकेयर पेन क्लिनिक’ पनि सञ्चालनमा आएको छ । ३ महिना भन्दा बढी हुने दुखाईलाई दीर्घकालिन दुखाई भनिन्छ । शल्यक्रिया पश्चातको दुखाइ लगायतका दीर्घकालीन दुखाइ व्यवस्थापनको लागि सम्बन्धित सबै विभागका विशेषज्ञ सम्मिलत टोली पनि बनाइएको डा. समिर शाक्यले जानकारी दिए । दीर्घकालीन दुखाईले शारिरिक साथै मानसिक पीडा समेत दिने भएकोले समयमा नै उपचार गर्नुपर्ने उनले बताए ।

ओठ तथा तालु चिरिएको समस्या भएकालाई अस्पतालमा निशुल्क उपचार भइरहेको छ । बैशाख १ गतेबाट शुरु भएको सेवा अन्तर्गत १३ जनाको निशुल्क शल्यक्रिया भएको डा. दिलिप प्रजापतिले जानकारी दिए । उनका अनुसार, शल्यक्रिया र औषधी निशुल्क प्रदान गरी यातायात खर्च उपलव्ध गराउनुका साथै विरामी र कुरुवालाई खाने र बस्नेको व्यवस्था समेत अस्पतालले नै गरिरहेको उनले जानकारी दिए ।

अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार, अस्पतालमा एचडीयू (हाई डेपेन्डेन्सी युनिट) मा बेड संख्यामा वृद्धिका साथै गुणस्तरीयताका लागि आवश्यक स्तरीकरण गरिएको छ । बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलन, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, विरामी र कुरुवाको लागि पार्किङको व्यवस्थापन, इमर्जेन्सीका बिरामीका लागि फास्टट्रयाक सेवामा सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजूले नेपालमा सबै कुरा सम्भव भएको भन्दै सफलताको उदाहरण धुुलिखेल अस्पतालले दिइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस