रोशी गाउँपालिकामा आधारभूत तहको शिक्षा `अनिवार्य´, माध्यमिक तहको `निःशुल्क´

नौलो समाचार संवाददाता
२०८१ अषाढ ६, बिहिबार मा प्रकाशित २२३ पटक पढिएको
रोशी गाउँपालिकामा आधारभूत तहको शिक्षा `अनिवार्य´, माध्यमिक तहको `निःशुल्क´

कटुन्जे । रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ ।

६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क भएको सुनिस्चित भएपछि सो घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले सो उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना भएको पाइएपछी अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको स्थानिय तह घोषणा गर्न प्रस्ताव गरेका थिए । शिक्षा विकास निर्देशनालय, हेटौंडाका महानिर्देशक दिपेन्द्र सुवेदीले घोषणा गरेका थिए । सहभागीले सामुहिक हस्ताक्षर गर्दै यसलाई पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार, सो उमेर समुहका सबै बालबालिका विद्यालय गएको यकिन गर्न १२ वटै वडाका समुदायमा सर्वेक्षण गरि तथ्यांक संकलन गरिएको थियो ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको छ । गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकिय अधिकृत तामाङले बताए ।

महानिर्देशक सुवेदीले संवैधानिक हक सुनिस्चित गरेकोमा गाउँपालिकालाई आभार प्रकट गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै बालश्रम, बालविवाह उन्मुलनको लागि आधार तय हुने तर्क गरे ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानिय तहले साथ दिएको बताए । उनले कार्यान्वयन सहज बनाउन विद्यालय एकीकरणका साथै शिक्षक दरवन्दी थप्दै जाने बताए । विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन अनुरोध गर्दै गाउँपालिकाले अप्ठ्यारोमा सहयोग गर्ने बताए । उनले विद्यालय ल्याइएको विद्यार्थिलाई सिकाउने, विद्यालयमा टिकाउने र बजारमा बिकाउने गरि तयारी गरेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सिमित स्रोतका बावजुद पनि अनिवार्य तथा नि:शुल्क शिक्षा लागू गरिएको बताए ।

शिक्षा, विकास तथा समन्वय इकाइ धुलिखेका प्रमुख देवका ढकालले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै त्यसलाई टिकाउन चुनौती भएको भन्दै सबै सहकार्य आवस्यक भएको बताइन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका सचिव श्रीकृष्ण थापाले शिक्षा अनिवार्य र नि:शुल्क बनाउन चुनौतीपुर्ण रहेको भन्दै सबैले जिम्मेवारी निभाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा रोशी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस रोशीका सभापति दुधराज तामाङ, नेकपा एमाले रोशिका कार्यवहाक अध्यक्ष रहेका वडा नम्बर ५ का अध्यक्ष निरध्वज लामा, सामाजिक विकास समितिका सभापति रहेका वडा नम्बर ७ का अध्यक्ष अशोक गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी रोशीका कुबेर गौतम, रोशि माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण सिग्देल लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएकोमा खुशी व्यक्त गर्दै कार्यान्वयनमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस