बेथानचोकमा यौन तथा प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनिकरण र बालअधिकारका बिषयमा अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८१ अषाढ ७, शुक्रबार मा प्रकाशित १२२ पटक पढिएको
बेथानचोकमा यौन तथा प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनिकरण र बालअधिकारका बिषयमा अभिमुखिकरण

ढुंखर्क /  बेथानचोक गाउँपालिकाले किशोर किशोरीका लागि यौन तथा यौन तथा प्रजनन् स्वास्थ्य, बालमैत्री स्थानीय शासन, बालविवाह न्यूनिकरण र बालअधिकारका बिषयमा अभिमुखिकरण गरेको छ ।

गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरण विभिन्न वडाबाट ४० जनाको सहभागिता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुशिला राईले जानकारी दिइन् ।

तालिमको समापन समारोहमा काठमाडौं विश्वविद्यालय (केयू)का उपकुलपति प्रा.डा. भोला थापाले तालिमका सिकाइ पछि सम्म पनि काम लाग्ने बताए । केयूका विभिन्न संकायमा अध्ययनको अवसर रहेको चर्चा गर्दै उनले शिक्षित जनशक्तिले नै समाजसेवा र राष्ट्रको सेवा गर्न सक्ने बताए ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बालबालिकाको अधिकार प्रति गाउँपालिका सचेत र जिम्मेवार रहेकोले यस्ता खाले कार्यक्रम गरेको बताए । उनले केयूसँग गाउँपालिकाले सहकार्य बढाएको भन्दै माइनिङ इञ्जिनिरिङ अध्ययनरत गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले ५० प्रतिशत पढाइ खर्च व्यहोर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले तालिममा सिकेका कुरा आफ्ना साथी, दौतरी, आफन्त सबैलाई सिकाउन अनुरोध गर्दै बालबालिकाले आफ्ना योजनाहरु गाउँपालिकासमक्ष राख्न अनुरोध गरे ।

गाउँपालिका प्रवक्ता रहेका वडा नं १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बालबालिका भवियका कर्णधार र अहिलेका साझेदार भएकोले उनीहरुलाई लक्षित गर्दै कार्यक्रम गरिएको बताइन् ।

सहभागीको तर्फबाट सन्दीप दाहाल र रस्मिता वि.कले तालिमका बिषयबस्तु निकै उपयोगी भएकोले बालमैत्री स्थानीय तह घोषणाको लागि तयारी गर्न गाउँपालिका र वडालाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस