पनौतीको नीति तथा कार्यक्रम पारित, पर्यटकीय रेलको सम्भाव्यता अध्ययन गरिने

१ अरब ६० करोड बजेट प्रस्ताव
नौलो समाचार संवाददाता
२०८१ अषाढ १०, सोमबार मा प्रकाशित ११९ पटक पढिएको
पनौतीको नीति तथा कार्यक्रम पारित, पर्यटकीय रेलको सम्भाव्यता अध्ययन गरिने

पनौती /  पनौती नगरपालिको आर्थिक वर्ष २०८१/ ०८२ को लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ ।

नगरसभाको १५ औं अधिवेशनमा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको हो ।

नीति तथा कार्यक्रम कार्यान्वयनको लागि चालुतर्फ ७४ करोड ७१ लाख ८० हजार, पुजीँगततर्फ  ८३ करोड ९८ लाख २० हजार र वित्तीय व्यवस्था १ करोड ३० लाख गरी कूल १ अरब ६० करोड बजेट व्यवस्था गरेको नगर प्रमुख भण्डारीले जानकारी दिए ।

नगरपालिकाले विभिन्न वडामा निर्मित तथा निर्माणाधिन पार्क लगायतका पर्यटकीय स्थलहरुलाई एक आपसमा जोड्न पर्यटकीय रेल (छुकछुके रेल) निर्माणको लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको लागि माथिल्लो निकायमा पहल गर्ने नीति लिएको छ ।

नीतिमा सघन शहरी विकास रणनीति अवलम्वन गरी पर्यटन प्रवद्र्धन, सडक पूर्वाधार, खानेपानी र सूचना प्रविधी क्षेत्रका पूर्वाधारमा जोड दिइने उल्लेख छ । नगर क्षेत्रभित्र रहेका पूरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिरकरणको प्रकृया अघि बढिसकेको स्थितीमा त्यसलाई थप जोड दिँदै सम्पदामैत्री घर तथा भौतिक संरचना निर्माण, सबलिकरण र प्रोत्साहनलाई यो बर्ष पनि निरन्तरता दिई धार्मिक पर्यटकीय नगरको रुपमा विकास गरिने नीतिमा छ ।

प्राचीन र पुरातात्विक इतिहास बोकेका ब्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुने गरी भवनको अग्रभागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशतमा नबढ्ने गरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराउने उल्लेख छ ।

धुलोरहित नगर बनाउनको लागि मिनि बुमर खरिद गर्ने, विश्व सम्पदा सूचीमा प्रस्तावित क्षेत्र वडा नं ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारी साधनको चक्का धुने व्यवस्था मिलाउनको लागि नीजि लगानीकर्तालाई प्रोत्साहन गर्ने नीतिमा छ ।

जटिल रोगबाट प्रभावित नगर क्षेत्रभित्रका व्यक्ति, सुत्केरी, जेष्ठ नागरिक र दलितको सेवा सुविधाका लागि निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने, घरदैलोमा नै जेष्ठ नागरिक स्वास्थ्य सेवालाई निरन्तरता दिने, प्रत्येक वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुर्याउने, खानी प्रभावित क्षेत्रको पूर्वाधार विकासको लागि बिशेष बजेट व्यवस्था गरिने उल्लेख छ ।

खानी, रोडा, ढुंगा उद्योग सञ्चालन भैरहेका वडा नम्बर २ र १२ नम्बरका स्थानीय नागरिकको स्वास्थ्य विमाका लागि नगरपालिका ५० प्रतिशत खर्च साझेदारी गर्ने नीति लिएको छ ।

छोरी, बुहारीहरुको उच्च शिक्षा पहुँच बृद्धिका लागि छोरी बुहारी छात्रवृति कार्यक्रम सञ्चालन गरिने, जेष्ठ नागरिकको लागि कृतिम दाँत र दन्त सेवा उपलव्ध गराउने, गर्भवती अवस्थामा जटिलता पत्ता लगाइ समयमा नै व्यवस्थापन गर्न ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम लागु गर्ने, कृषि तथा पशुजन्य उपजहरुको प्रदर्शन तथा विस्तारको लागि पायक पर्ने स्थानको छनौट गरी कृषि तथा पशुपन्छी हाटबजार सञ्चालन गर्ने नीति तथा कार्यक्रममा छ ।

नगर भित्रका सामुदायिक विद्यालयहरुमध्येबाट नमुना विद्यालयको रुपमा विकास गरि क्रमशः ‘एक वडा एक नमुना विद्यालय’ कार्यकम्र सञ्चालन गरि विद्यार्थीकोक्षमता अभिवृद्घि गर्न विद्यार्थीलाई ल्याउने, सिकाउने र टिकाउने नीति अघि बढाइने, ‘एक नगर एक प्राविधिक विद्यालयको’ अवधारण अनुरुप संघ र प्रदेशप्रदेशसँग समन्वय गरी लागत साझेदारीमा प्राविधिक विद्यालय सञ्चालनका लागि सम्भाब्यता अध्ययन गर्दै यसरी सञ्चालित विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गरी आवासीय रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख छ ।

वैदेशिक रोजगारीवाट फर्किएका युवायुवतीहरुलाई स्वदेशमै उद्यमशील वनाउन विशेष पहल गरिने योजना युवा तथा खेल्कुद नीतीमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस