रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

६९ करोड २० लाख ९८ हजार बजेट
नौलो समाचार संवाददाता
२०८१ अषाढ १०, सोमबार मा प्रकाशित १४८ पटक पढिएको
रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

अमलटार /  रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

गाउँ सभाको १५औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले प्रस्तुत गरेको ६९ करोड २० लाख ९८ हजार रुपैयाँको आय र व्ययको अनुमान (बजेट) सभाले पारित गरेको हो ।

उपाध्यक्ष वाइवाले आन्तरिक स्रोतबाट १ करोड २४ लाख ८४ हजार, स्थानीय राजश्व बाँडफाँडबाट ४ करोड ४० लाख, संघीय राजश्व बाँडफाँड बाट १० करोड ६५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ९६ लाख ५८ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ३० लाख, संघीय सशर्त अनुदान बाट ३१ करोड १३ लाख ९३ हजार, संघीय समपुरक अनुदान १ करोड, प्रदेश सरकार समानीकरण ९८ लाख ९३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ३ करोड १० लाख ७० हजार र प्रदेश सरकारको समपुरक अनुदान २ करोड आय हुने अनुमान प्रस्ताव गरेका थिए ।

गाउँसभामा अध्यक्ष दिनेश लामाले आर्थिक बर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत पनि पारित गरेको छ ।

मातृ तथा नवजात शिशु मृत्यु दर घटाउनको लागि ‘सुत्केरी आमा पोषिलो खाना’, निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी घरभेट, ग्रामिण भिडियो एक्सरेका अतिरिक्त बालबचाउ कार्यक्रम सञ्चालन गर्ने नीतिमा छ ।

‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिने, ६० बर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य विमा गर्ने कार्यक्रमलाई निरन्तरता दिने, आर्थिक रुपमा अति विपन्न गाउँपालिकावासीलाई स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान निशुल्क एम्बुलेन्स सेवा प्रबन्ध गर्ने, रोशी गाउँपालिकाका सबै भूगोलमा टेलिफोन नेटवर्क सेवा उपलव्ध गराउन, सेवा विस्तार स्तरोन्नती गर्न सम्बन्धित तह र निकायसंग समन्वय र सहकार्य गर्ने नीतिमा छ ।

जेष्ठ नागरिकप्रति हुने दुव्र्यवहार र अवहेलनाजस्ता कार्यलाई न्युनिकरणका लागि श्रवणकुमार पुरस्कारको नीतिले निरन्तरता पाएका छन् ।

सभामा वाइवाले पेश गरेको आर्थिक विधेयक, न्यायिक समितिको प्रगति प्रतिवेदन र प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष बसन्तकुमार स्यांतानले पेश गरेको बार्षिक प्रगति प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।

गाउँपालिकाले हालसम्मको अवधीमा ६९ दशमलव ०५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको सभामा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस