मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम : नेपाली कपडा, दुध र मोही अनिवार्य

८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँको विनियोजन प्रस्ताव
नौलो समाचार संवाददाता
२०८१ अषाढ ११, मंगलबार मा प्रकाशित १७३ पटक पढिएको
मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम : नेपाली कपडा, दुध र मोही अनिवार्य

महादेवस्थान / मण्डनदेउपुर नगरपालिकाकाले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँको विनियोजन प्रस्ताव गरेको छ ।

नगर सभामा उपप्रमुख विष्णुमणि नेपालले प्रस्तुत गरेको विनियोवित बजेटमा पुँजीगततर्फ ३५ करोड १८ लाख ९ हजार ३ सय ५ (४२ दशमलव ५ प्रतिशत) र चालुतर्फ ४७ करोड ५९ लाख ७७ हजार २ सय ९५ रुपैयाँ (५७ दशमलव ५ प्रतिशत) प्रस्ताव गरिएको छ ।

मण्डनदेउपुर नगरपालिकाले नगरपालिका भित्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थीले अनिवार्य रूपमा नेपालमा बनेको कपडाको पोशाक लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

नगर सभाको पन्ध्रौं अधिवेशनमा नगर प्रमुख टोकबहादुर वाइवाले पेश गरेको नीति तथा कार्यक्रममा दूग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न नगरपालिका र वडा कार्यालयहरुले गर्ने सबै कार्यक्रममा चिया, कफि, कोक फ्यान्टा जस्ता तयारी पेय पदार्थको सट्टामा स्थानीय कृषिकबाट उत्पादित दुध तथा मोहिको प्रयोगलाई अनिवार्य गरिने उल्लेख छ ।

नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपणजस्ता विषयका कार्यक्रमलाई सञ्चालन गर्ने कार्यको निरन्तरतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

जमिनको अवस्थ, हावापानी, माटो तथा उत्पादनको सम्भावना भएको स्थानको पहिचान गरी प्रतिस्पर्धाका आधारमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गर्ने, रैथाने प्रजातीको बालीको संरक्षणको लागि बिउ बैंक स्थापना गर्ने, स्नातक वा सोभन्दा माथि उतीर्ण गरेका, व्यावसायिक योजना पेश गर्ने युवाहरूलाई छनौट गरी योजना प्रस्तावनाका आधारमा संघ प्रदेश सरकार एवम् वित्तीय संस्थाको सहकार्यमा सहुलियत ऋणको व्यवस्थाका लागि सहजीकरण तथा परिक्षणको रुपमा सहुलियत पूर्ण ऋणको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकामा श्रम बैङ्क स्थापना गरी श्रम माग गर्ने संस्था वा निकायलाई श्रमिक उपलब्ध गराउन नगरपालिकाले समन्वय र सहकार्य गर्ने नीति नगरपालिकाको छ ।

पचास वर्ष उमेर पुगेका सबै नागरिकको वर्षमा एक पटक उच्च रक्तचाप, मधुमेह, मुटु, मृगौला, कलेजो, श्वासप्रश्वास, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग लगायतका नसर्ने रोगहरूको नगर अस्पतालबाट निःशुल्क परीक्षणको व्यवस्था गर्ने, ५ शैयाको नगर अस्पताललाई विस्तार गरी १५ सैयाको अस्पतालमा स्तरोन्नति कार्य दुई बर्ष भित्र सम्पन्न गर्ने, नगर अस्पतालमा स्वास्थ्य विमा सेवा उपलव्ध गराउने, अस्पताल संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने उल्लेख छ ।

सबै सामुदायिक विद्यालयहरुमा वालमैत्री उद्यान निर्माण गरी क्रमश हरित विद्यालय निर्माण अभियान संचालन गर्ने, विद्यालयहरूमा लैङ्गिक तथा अपाङगमैत्री भौतिक संरचनाहरू निर्माण तथा आवश्यकताको आधारमा छात्राहरूका लागि सेनेटरी प्याड र महिनावारी बेड रेस्टको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

सामुदायिक विद्यालयमा अध्ययन गरी एस.ई.ई. उतिर्ण गरेका दलित, पिछडिएको वर्ग, अति विपन्न र जेहेन्दार छात्रछात्रालाई अध्ययनपछि नगरपालिकामा कम्तीमा ३ वर्षसम्म सम्बन्धित क्षेत्रमा अनिवार्य सेवा गर्ने गरी कृषिमा १ जना, स्वास्थ्यमा १ जना र इन्जिनियरिङ्गमा १ जनालाई भौचरमा आधारित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाईने नीति लिएको छ ।

आगामी आर्थिक बर्षमा केही वडाहरु बाल मैत्री वडा घोषण गर्ने, सामाजिक विकृति, विसंगती, विभेद तथा घरेलु हिंसा न्युनिकरणको लागि लागु पदार्थ दुरव्यसन, जाड रक्सी र जुवा तास नियन्त्रणको लागि नभएको टोल (शुन्य टोल)लाइ पुरस्कृत र भएको टोललाई जरिवाना गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।

सामुदायिक वन तथा अन्य वन क्षेत्रमा आगलागि नियन्त्रणका लागि अग्नि रेखा निर्माण तथा बर्खाको पानी पुनर्भरणका लागि ‘एक सामुदायिक वन, पाँच पोखरी’ निर्माण कार्यको थालनी गर्ने, नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिकको गुनासो सुन्न कल सेन्टरको स्थापना गरी संचालन गर्नुका साथै कृषि क्षेत्रको उत्थान र प्रवर्धनका लागि आगामी आ.व. देखि कृषिसम्बन्धी फर्म, उद्योग, व्यवसायिक संस्थाको दर्ता वा नवीकरण शुल्कमा ५०% छुट दिने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा छ ।

प्रतिक्रिया दिनुहोस