बेथानचोक गाउँसभा : प्रत्येक बर्ष ‘५ कि.मि. पक्की सडक’ कार्यलाई निरन्तरता

नौलो समाचार संवाददाता
२०८१ अषाढ ११, मंगलबार मा प्रकाशित २१५ पटक पढिएको
बेथानचोक गाउँसभा : प्रत्येक बर्ष ‘५ कि.मि. पक्की सडक’ कार्यलाई निरन्तरता

ढुंखर्क — बेथानचोक गाउँपालिकाले प्रत्येक बर्ष ‘५ कि.मि.सडक कालोपत्र तथा ढलान’ कार्यलाई निरन्तरता दिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को गाउँसभाको १५औं अधिवेशनमा अध्यक्ष भगवान अधिकारीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा यसै आ.व.भित्र बेथानचोकका ६ वटै वडामा कालोपत्र सडक विस्तारको आयोजना सुरु गरिने उल्लेख छ ।

काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा दुर्लुङ्गखोला–च्याम्राङ्गवेशी सुरुङ मार्गको विस्तृत अध्ययन गरी आगामी आर्थिक बर्षदेखि सुरुङ मार्ग खन्न शुरु गर्ने नीति तथा कार्यक्रमममा छ ।

बहुमूल्य खनिजहरुको उत्खनन्, अध्ययन तथा अनुसन्धान गरिने, सामुदायिक माध्यमिक विद्यालयहरुमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने, क्रमशः एक वडाका एउटा विद्यालयमार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइने, बेथानचोकस्थित पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी–बुहारीलाई विश्वविद्यालयसम्मको निःशुल्क शिक्षाको व्यवस्था मिलाइने उल्लेख छ ।

बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरी एमबीबीएस अध्ययनगर्ने विद्यार्थीलाई एक पटक दुई लाख छात्रवृत्ति प्रदान गर्ने, व्यवस्थापन, मानविकी, विज्ञान, इञ्जिनियरिङ संकायअन्तर्गत र स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्तिस्वरुप पचास हजार प्रदान गर्ने, बेथानचोक गाउँपालिकाका बारेमा स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई प्रति शोधपत्र एक लाख सहयोग प्रदान गर्ने नीतिलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्र अव्यवस्थित रूपमा सञ्चालित खानी पूर्ण रूपमा बन्द गर्दै वातावरणीय प्रभाव मूल्यांकनका आधारमा दर्ता भएका खानीलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत ६४ करोड १२ लाख बराबरको आय तथा व्ययका अनुमान (बजेट) का साथै नीति तथा कार्यक्रम पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस