तेमालको नीति तथा कार्यक्रम र बजेट पारित

नौलो समाचार संवाददाता
२०८१ अषाढ ११, मंगलबार मा प्रकाशित १४१ पटक पढिएको
तेमालको नीति तथा कार्यक्रम र बजेट पारित

तेमाल /  तेमाल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम र आय र व्ययको अनुमान (बजेट) पारित गरेको छ ।

गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष चन्द्रबहादुर तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थोकरले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।

गाउँसभाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँको अनुमानित बजेट पारित गरेको थियो । संघीय सरकारको वित्तिय समानीकरण अनुदानबाट ८ करोड ८६ लाख, संघीय सशर्त अनुदान २३ करोड ८७ लाख, समपुरक अनुदान ६५ लाख, वित्तिय समानीकरण अनुदान ८४ लाख २९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २२ लाख ६८ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान ७० लाख, संघको राजस्व बाँडफाँड ८ करोड ६२ लाख, प्रदेशको राजस्व बाँडफाँड प्रदेश २ करोड २ लाख ७१ हजार ८ सय, स्थानीयको राजस्व बाँडफाँड १ करोड २० लाख र आन्तरिक आय ९० लाख हुने अनुमान पेश गरिएको थियो ।

गाउँपालिका अध्यक्ष तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा सडक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सडक पूर्वाधारमा पछि परेको गाउँपालिकाको प्रत्येक वडा कार्यालयदेखि गाउँपालिका कार्यालय जोड्ने रणनीतिक सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । सर्वयाम गाडी सञ्चालन हुने सडक पूर्वाधारको निर्माणमा जोड दिएको अध्यक्ष तामाङले बताए ।

स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहन दिने, दरबन्दी मिलन र शिक्षक सरुवालाई व्यवस्थापन गर्ने लगायतका विषयहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगारिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा, अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति तेमाल गाउँपालिकाको छ । मुटु रोग, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रवन्ध मिलाउने, जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, विभिन्न रोगसँग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिकालाई खुल्ला बहुसाँस्कृतिक संग्राहलयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, गाउँपालिकामा बोलिने सबै भाषाहरुको संरक्षण गर्ने, आन्तर्राष्ट्रिय तामाङ साँस्कृतिक केन्द्र स्थापना गर्ने लगायतका नीति तथा कार्यक्रममा समावेश छन् ।

चालु आर्थिक बर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष तामाङले पूर्वाधार विकास क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको बताए । चालु आर्थिक वर्षमा ० दशमलव २४७ किलोमिटर पक्की सडक निर्माण, ३३ दशमलव ०५ किलोमिटर सडक स्तरोन्नती र २९ दशमलव २५ किमी सडकको नयाँ ट्रयाक सडक निर्माण र २ किलोमिटर गोरेटो बाटो निर्माढा गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्ष १९ वटा भवन निर्माण, ३४ वटा मन्दिर÷ गुम्बा निर्माण, १४ वटा सत्तल निर्माण, ८ वटा खेलमैदान निर्माण तथा मर्मत र ७ वटा पार्क वा चौतारा गरिएको अध्यक्ष तामाङले बताए । चालु आर्थिक वर्षमा १ हजार ५० घरधुरीमा स्वच्छ खानेपानी पुगेको र १३ दशमलव ६ हेक्टर क्षेत्रफल सिंचाइ सुविधा पुगेको उनले बताए ।

१५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडी बढेको, आँखा, दाँत र ठूलो आन्द्राको क्यान्सर सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेर ३ हजार २ सय ४८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको उनले जानकारी दिए ।

गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, ९ नं वडा अध्यक्ष चन्द्रबहादुर लामा, वडा नं १ का वडा अध्यक्ष ईन्द्र अधिकारीलगायतले योजना तर्जुमा र विकास निमार्णबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस