नमोबुद्ध नगर युवा परिषद्को प्रशिक्षण सकियो

नौलो समाचार संवाददाता
२०८१ अषाढ ११, मंगलबार मा प्रकाशित ३४५ पटक पढिएको
नमोबुद्ध नगर युवा परिषद्को प्रशिक्षण सकियो

भकुण्डेवेशी / उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न नमोबुद्ध नगरपालिका नगर युवा परिष्दले आयोजना गरेको ७ दिनको तालिम सकिएको छ ।

असार ५ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिममा औद्यागिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व निर्देशक समेत रहेका प्रमुख प्रशिक्षक इश्वरी प्रसाद शर्मा, विनोद देव पन्त, उमेश प्रसाई, यज्ञबहादुर ओलीले उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा बजारिकरण अवधारणा, उत्पादन योजना, खर्च योजनाका बारेमा प्रशिक्षण दिएका थिए । तालिमकै अवधीमा सहभागीले व्यवसायिक योजना निर्माण, प्रस्तुतिकरणका साथै सफल उद्यमीसंग अन्तरक्रिया समेत गरेका छन् ।

११ वटै वडाबाट कम्तीमा १ महिलासहित २ पुरुष गरी ३३ जना तालिममा सहभागी थिए ।

तालिम समापन गर्दै नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर के.सी.ले बजेटको सिमितताको कारण युवा, खेलकुदको क्षेत्रमा धेरै काम हुन नसकेको तर्क गर्दै अब गति लिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले थोरै बजेटबाट पनि यति ठूलो र महत्वपूर्ण कार्यक्रम गरेको भन्दै नगर युवा परिषद्को प्रशंसा गर्दै काम गर्न बजेटको अभाव नहुने प्रतिवद्धता जनाए ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले युवा लक्षित कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय तह, प्रदेश र संघ सरकारमा पनि पहल गरिएको भन्दै आगामी आर्थिक बर्षको बजेटबाट असोज मसान्तमा नै काम गरिने बताए । युवामा रोजगारी, उद्यमशीलता विकास गर्दै आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने भन्दै उनले तालिमका सहभागीलाई पूर्ण दक्ष बनाउन पुनर्ताजगी तालिम समेत सञ्चालन गर्ने बताए ।

सहभागी मिना लामा र इश्वर खनालले तालिम निकै प्रभावकारी भएको भन्दै उद्यमशीलता विकासमा उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस