भुम्लुु गाउँपालिकामा सिमान्तकृत समुदायको उत्थानको लागि विशेष कार्यक्रम गरिने

नौलो समाचार संवाददाता
२०८१ अषाढ १२, बुधबार मा प्रकाशित १०८ पटक पढिएको
भुम्लुु गाउँपालिकामा सिमान्तकृत  समुदायको उत्थानको लागि विशेष कार्यक्रम गरिने

भुम्लु / भुम्लु गाउँपालिकाले सिमान्तृकत, अल्पसंख्यक समुदायको उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँसभाको १५ औं अधिवेशनबाट पारित नीति तथा कार्यक्रममा ती समुदायको उत्थान, भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि विशेष कार्यक्रमहरु घोषणा भएका हुन् ।

पहरी समुदायको विशेष क्षेत्र घोषणा गरी उक्त समुदायको आर्थिक, सांस्कृतिक भाषा, धर्म, भेषभुषा र पेशा व्यवसायलाई जगेर्ण र उत्थान हुने गरि विशेष कार्यक्रम संचालन गरी शिक्षा, स्वास्थ्य र आर्थिक उत्थान हुने गरि आयआर्जनको कार्यक्रम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आदिवासी, जनजाति, सिमान्तकृत माझी, पहरी, भुजेल समुदायको पहिचान र मौलिक हक, धर्म, भाषा, संस्कार, संस्कृति र भेषभुषा, रीतिरिवाजको रक्षा र विकास गरी विषेश कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसको लागि शिक्षामा छात्रवृति, स्वास्थ्य विमा, कृषि व्यवसयको लागि स्वंयमको जग्गा नभएमा जमिन भाडा, अनुदान, क्षमताको आधारमा रोजगारीमा प्रातमिकता, विकासको पुर्वधार योजनाको मागमा प्राथमिकता, उद्योग व्यवसायको लागि व्याज अनुदान सहयोग, माछा पालनको लागि माच्छाको भुरा, पोखरी निर्माण, पानिको पहिचान भएमा सहयोग, सिपको सामुहिक माग भए व्यवस्थापन गर्नेका साथै वडा स्तरको संगठीत समिति र पालिका स्तरिय समन्वय समिति संरचना बनाइ आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति परम्पराको रक्षा र विकास गर्न वहस पैरवी या सौदावाजी गर्न सकिने नीति लिइएको छ ।

सिमान्तकृत अल्प संख्यक माझी, पहरी, भुजेल, दलित समुदायबाट स्वास्थ्यतर्फ नर्स, कानुन, विज्ञान वा विद्यावारिधीसम्मको अध्ययन गर्न चाहेमा शैक्षिक कोष खड गरी छात्रवृति दिने, पालिकाभरमा उत्कृष्ट विद्यार्थी छनोट गरी उनको लक्ष्य र चाहाना अनुसार विद्यावारिधी (पिएचडी) सम्म अध्ययनको लागि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वडा नं २ र ३ सुन्तला पकेट क्षेत्र, वडा नं ४ मा किबी पकेट क्षेत्र घोषणा गरी यसका अलवा एक घर एक एभोकाडो, कागती, सुन्तला केरा र कफी लगाउन आवश्यक सहयोग गर्ने नीति तथा कायत्र्रक्रममा उल्लेख छ । ‘एक घर एक घैटो’ अभियान सञ्चालन गर्दै आगामी ३ बर्षभित्रमा १ हजार वटा निर्माण गरिने उल्लेख छ ।

‘एक घर एक घार मौरी, संरक्षण गरौ पैयौ र चिउरी’ नारालाई सार्थकता दिन तालिम, प्रोत्साहन दिने, रैथाने बाली कोदो, जौ, गहुँ र फापरको विक्री पुर्जीको आधारमा के.जी.मा रु.५ उपलब्ध गराइने, जंक फुड नियन्त्रण गर्ने, मौसम अनुसारको फलफुल जुस उत्पादनको लागि सिप, तालिम र प्रोत्साहन अनुदानको व्यवस्था गर्ने, लस्सी र मोही पिउने बानी पिउने बानी बसाल्न तालिम र सुरक्षित भण्डारण गर्न आवश्यक भाडाँ वा फ्रिजमा अनुदान दिनुको साथै विकि केन्द्रको व्यवस्थापनमा प्रोत्साहान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘एक नागरिक एक महिनाको एक दिन श्रमदान, एक वडा एक श्रम सास्कृतिक पार्कको व्यवस्थापन’ भन्ने नीति अनुरुप श्रमदानलाई अनिवार्य गरिने, ढुंगा गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतहरुको अनाधिकृत उवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिने नीति भुम्लुले लिएको छ ।

गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष प्रेमबहादुर भुजेलले पेश गरेको बार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले पेश गरेको ६९ करोड ७३ लाख ३९ हजार रुपैयाँको आय तथा व्ययको अनुमान (बजेट) पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस