भालेश्वर माविमा कक्षा ११ मा विज्ञान संकाय पढाई हुने

नौलो समाचार संवाददाता
२०८१ अषाढ १२, बुधबार मा प्रकाशित १८६ पटक पढिएको
भालेश्वर माविमा कक्षा ११ मा विज्ञान संकाय पढाई हुने

पनौती / पनौती नगरपालिका वडा नं ८, मल्पीस्थित भालेश्वर माविले कक्षा ११ मा विज्ञान संकायको पढाइ शुरु गर्ने भएको छ ।

बुधवार पत्रकार सम्मेलन गरेर विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा विज्ञान बिषयमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, गणित र कम्प्युटर साइन्सको पढाइ हुने जानकारी दिएको हो ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाका अनुसार, हाल विद्यालयमा ९ सय १५ विद्यार्थी अध्ययनरत छन् । २ सय २७ जना नयाँ विद्यार्थीहरु यसै बर्ष कक्षा १ देखि ९ सम्म भर्ना भएका थिए । कक्षा ११ मा नयाँ भर्ना भएपछि विद्यार्थीको संख्या करिब १ हजार पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी.ले जानकारी दिए ।

वि.सं २०११ साल माघ १७ गते तत्कालिन पूर्व १ नं काभ्रेपलाञ्चोक इलाका पनौती भिन्दाल गाउँमा शिक्षा प्रचार गरी निरक्षरता हटाउन ५५ जना अग्रज, शिक्षाप्रेमीको भेलाबाट हरिबहादुर खत्रीको अध्यक्षतामा भिन्दाल गाउँको ठूलो पिपलको बोटमूनि विद्यालय सञ्चालन हुने गरी श्री शिक्षा मन्दिर विद्या केन्द्र तथा संकटकालीन भण्डारको नामबाट सञ्चालन थालिएको विद्यालय वि.स २०१४ साल जेठ २ गते भालेश्वर राष्ट्रिय प्राथमिक विद्यालय हुँदै २०३४ सालमा निमावि, २०४६ सालमा मावि र २०६७ सालदेखि कक्षा ११ को पढाइ शुरु भएको थियो ।

जिल्लाको नमुना सामुदायिक विद्यालय मानिने भालेश्वरमा नीजि विद्यालय छोडेर विद्यार्थी भर्ना हुन आउँछन् । चाप धान्न नसकेर विद्यालयले प्रवेश परिक्षा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस