बनेपाबाट यातायात व्यवस्था कार्यालयको सेवा शुरु

नौलो समाचार संवाददाता
२०८१ अषाढ १५, शनिबार मा प्रकाशित १६१ पटक पढिएको
बनेपाबाट यातायात व्यवस्था कार्यालयको सेवा शुरु

बनेपा / बनेपा नगरपालिका वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना भएर सेवा शुरु भएको छ ।

मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको कार्यालय स्थापना भएर सेवा शुरु गरिएको हो ।

बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० बर्षको लागि निशुल्क उपलव्ध गराएको छ ।

कार्यालयबाट प्रारम्भिक चरणमा सवारी दर्ता, नामसारी, नविकरण, प्रतिलिपी जारी, सवारी जाँचपास (प्राविधिक निरिक्षण/परिक्षण) सम्बन्धी कार्य, बाटो इजाजत (रुट परमिट) प्रदान र नविकरण सम्बन्धी काम हुने यातायात व्यवस्था कार्यलय काभ्रेपलाञ्चोकका प्रमुख अनुप ढकालले जानकारी दिए ।

यसअघि काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाका सेवाग्राहीले यसअघि भक्तपुरस्थित कार्यालयबाट सेवा लिँदै आएका थिए ।

मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लालाई लक्षित गरी खुर्कोटमा कार्यालय स्थापना गरेको थियो ।

समुद्धघाटन गर्दै बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपास्थित कार्यालयबाट काभ्रे र आसपासका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । यातायात क्षेत्रमा डिजिटलाइजेसन शुरु गरेको भन्दै उनले फाइल बोकेर हिड्ने दिन सकिने दाबी गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, रुकु चौलागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, यातायात व्यवसायी आत्माराम थापाले कार्यालय स्थापनाले जिल्ला र जिल्लावासी लाभान्वित हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस