नमोबुद्ध नगरपालिका ‘यो बर्ष’ पूर्ण खोप सुनिश्चित

नौलो समाचार संवाददाता
२०८१ अषाढ १६, आईतबार मा प्रकाशित ३५३ पटक पढिएको
नमोबुद्ध नगरपालिका ‘यो बर्ष’ पूर्ण खोप सुनिश्चित

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकालाई चालु आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १५ महिना मुनिका बालबालिका २ सय ३६ जना र १६ देखि ५९ महिनासम्मका २ सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

१६ महिना सम्म पाउनुपर्ने खोप सो अवधीमा नपाएको भए २३ महिनासम्ममा पुरा गरिन्छ ।

सोमबार नगरपालिकामा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, वडा अध्यक्ष, १४ वटै स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।

जनस्वाथ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा प्रमुख सुनिल के.सी.का अनुुसार, १४ स्वास्थ्यबाट सो उमेर समुहका खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो । उनका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए ।

चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।

कार्यक्रममा सहभागी सबैले आगामी आर्थिक बर्षमा पनि सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस