आयुर्वेद चिकित्साप्रति सरोकारवालाकै ‘वेवास्ता’

नौलो समाचार संवाददाता
२०८१ अषाढ १७, सोमबार मा प्रकाशित १७८ पटक पढिएको
आयुर्वेद चिकित्साप्रति सरोकारवालाकै ‘वेवास्ता’

बनेपा /  प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक चिकित्साप्रति सरोकारवालाहरुले ‘वेवास्ता’ गरेको गुनासो गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारसंग गरिएको अन्तरक्रियामा चिकित्सालय प्रमुख रहेका आयुर्वेद चिकित्सक डा. वशंंवदम्वा कौण्डिन्यायनीले आयुर्वेदिक चिकित्सा पद्धती र आयुर्वेदिक चिकित्सालयका कार्यक्रम र योजनामा जनप्रतिनिधी, कर्मचारी लगायतको कम प्राथमिकमतामा परेको गुनासो गरिन् । ‘आयुर्वेदिक चिकित्सा पद्धतीको बारेमा जनप्रतिनिधी, उच्च पदस्थ कर्मचारी र सरोकारवालाको चासो कम छ, उहाँहरुले बुझ्नु भएको छैन, बुझ्न चाहनुभएको छैन,’ पत्रकारहरुको प्रश्नको जवाफमा उनले भनिन्, ‘केही जनप्रतिनिधीको चासो छ तर कतिपयलाई हामीले उहाँहरुलाई बुझाउन नसकेको पनि हो की, हाम्रा कार्यक्रममा उहाँहरुको सहभागिता र उपस्थिती नै कम हुन्छ ।’

उनका अनुसार, पछिल्लो समय आयुर्वेदिक चिकित्सा पद्धतीको सेवा र सेवा लिनको संख्या दुवै बढ्दै भने गएको छ । आर्थिक बर्ष २०७९/८० मा ३१ हजार ७ सय ४२ जनाले बहिरंग सेवा लिएका थिए । चालु आर्थिक बर्षको जेष्ठ मसान्तमसम्म १७ हजार ८ सय ७५ महिला र ११ हजार ९ सय ४४ पुरुष गरी २९ हजार ८ सय १९ जनाले सेवा लिएका छन् । असारको तथ्याकंपछि यो संख्या गतबर्षको भन्दा बढी हुने कार्यालयले जनाएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेबाट बहिरंग सेवाका साथै पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र, अक्यूपञ्चर, फिजियोथेरापीका साथै २५ किसिममका औषधी निशुल्क वितरण हुन्छ । पथ्यापथ्यनिर्देश, थेराप्युटिक योगका साथै प्रयोगशाला परीक्षण पनि हुने गरेको छ । प्रवर्धनात्मक सेवा अन्तर्गत जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण, योगासन, प्राणायाम, ध्यानका साथै पञ्चकर्म अन्तर्गत स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग सेवा उपलव्ध हुने चिकित्सालयले जनाएको छ ।

जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक उपचार सेवा प्रदान भइरहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले वैकल्पिक चिकित्सा पद्धती प्रवद्र्धनको लागि सबैको उत्तिकै भूमिका रहेको तर्क गर्दै यो अभियानमा सञ्चार क्षेत्रको पनि साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

कविराज प्रताप लामाले आयुर्वेद विश्वकै जेठो र प्रभावकारी चिकित्सा पद्धती भएको भन्दै यसको प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका हुने बताए ।

कार्यक्रममा सहभागी जिल्लाका कृयाशिल सञ्चारकर्मीले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस