नमोबुद्ध नगरपालिकाको बजेटका साथै दलित सशक्तिकरण विद्येयक पारित

नौलो समाचार संवाददाता
२०८१ अषाढ १७, सोमबार मा प्रकाशित २५८ पटक पढिएको
नमोबुद्ध नगरपालिकाको बजेटका साथै दलित सशक्तिकरण विद्येयक पारित

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक आय र व्ययको अनुमान (बजेट), विनियोजन विधेयक, आर्थिक विधेयक पारित गरेको छ । दोस्रो नगर सभाको पाचौं अधिवेशनको तेस्रो बैठकमा निर्णयार्थ प्रस्तुत भएका विद्येयक नगर सभामा सर्वसम्मतले पारित भएको हो ।

नगर सभा सदस्यविच पर्याप्त छलफल गरेर नगर सभाले नीति तथा कार्यक्रम, बार्षिक आय र व्ययको अनुमान (बजेट), विनियोजन विधेयक, आर्थिक विधेयक पारित गरेको छ ।

असार ७ गते नगर प्रमुख कुनसाङ लामाले पेश गरेको आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक नीति तथा कार्यक्रम पनि पारित भइसकेको छ ।

असार १० गते पाचौं अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ ५९ पैसाको अनुमानित आय र व्ययको अनुमान प्रस्तुत गरेका थिए । चालुतर्फ १७ करोड २ लाख २१ हजार ८ सय १३ रुपैयाँ ५९ पैसा र पुँजीगततर्फ ६० करोड ८ लाख २४ हजार ६ सय ३० रुपैयाँँको बजेट प्रस्ताव गरिएको थियो ।

सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले पेश गरेको आर्थिक बर्ष २०८०/ ८१ को आर्थिक विधेयक र विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले पेश गरेको विनियोजन विधेयक पनि सर्वसम्मतिले पारित भएको छ ।

नगर सभाले नमोबुद्ध नगरपालिकाको दलित सशक्तिकरण ऐन पनि पारित गरेको छ । कार्यापालिका सदस्य शुशिला परियारले पेश गरेको विद्येयक नगर सभाले सर्वसम्मतले पारित गरेको हो ।

नगर कार्यपालिकाको विभिन्न मितिमा बसेका बैठकको निर्णय नगर सभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस