भकुण्डेवेशीमा विपद प्रतिकार्य तालिम शुरु

नौलो समाचार संवाददाता
२०८१ अषाढ १७, सोमबार मा प्रकाशित १३८ पटक पढिएको
भकुण्डेवेशीमा विपद प्रतिकार्य तालिम शुरु

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा विपद प्रतिकार्य तालिम शुरु भएको छ ।

रोशी गाउँपालिकाको आयोजना तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा ३ दिनको तालिम सोमबार शुरुवात गरिएको हो । भद्रदल गण भकुण्देबेशीका सेना र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीले प्राविधिक तालिम दिनेछन् ।

तालिम उद्दघाटन गर्दै नमोबुद्ध नगर प्रमुख कुन्साङ लामाले विपद न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । ‘विपद कहिँ पनि कसैलाई पनि नपरोस्, यदि परिहाल्यो भने पनि हामी सबै मिलेर सामना र प्रतिकार्य गर्न लाग्नु पर्छ,’ नगर प्रमुख लामाले भने, ‘स्थानीय तह एकातिर, प्रहरी एकातिर, नेपाली सेना एकातिर भयो भने प्रभावकारी हुदैन, त्यसो भएर हामी सबै एक्जुट भएर अगाडि बढ्नुपर्छ ।’ विपद प्रतिकार्यका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विपदमा फ्रन्टलाइमा खटिने हरु एक भएर लागौं भन्ने सन्देश दिन तालिम आयोजना गरेको बताए । विपद प्रतिकार्य गर्न समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक भएको भन्दै उनले तालिम प्राप्त व्यक्तिहरु विपद प्रतिकार्यमा खटिने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइले विपद प्रतिकार्यको लागि जिल्लाका सुरक्षा निकाय, स्थानीय तहहरु र समुदाय एक भएर लाग्नुपर्ने बताए ।

भकुण्डेवेशीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनीका बाहिनीपति अशोक गुरुङले स्थानीय तहहरुसंग समन्वय गरेर सेनाले विभिन्न कार्य गर्दै आएको बताउँदै विपद प्रतिकार्यमा प्रभावकारी भएको बताए । विपद प्रतिकार्यमा पहिलो भुमिका स्थानीयको हुन भन्दै उनले सामुदायिक विपद प्रतिकार्य तालिमले स्थानीयलाई परिचालन हुन प्रेरित गर्ने बताए ।

रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले तालिमबाट प्राप्त सिपलाइ विपदको वेला साच्चै प्रयोगमा आउने विश्वास व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख रहेका प्रहरी निरीक्षक कृष्ण गिरिले संचालन गरेको कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले स्वागत मन्तव्य राखेका थिए ।

भद्रदल गणका क्याप्टेन समीर अधिकारी तालिमबारे प्रस्तुतीकरण गर्दै सैद्धान्तिक तथा व्यवहारिक ज्ञान आदानप्रदान हुने बताए ।

तालिममा रोशी गाउँपालिकाका सबै वडा र रेडक्रसबाट गरी ८० जना भन्दा बढी सहभागी रहेको रोशी गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव रहेका इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस