टोल टोलमा पुगेर नमोबद्ध नगरपालिकामा ६ हजार ६५ जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निःशुल्क, औषधी पनि निःशुल्क

नौलो समाचार संवाददाता
२०८१ अषाढ १८, मंगलबार मा प्रकाशित ३७९ पटक पढिएको
टोल टोलमा पुगेर नमोबद्ध नगरपालिकामा ६ हजार ६५ जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निःशुल्क, औषधी पनि निःशुल्क

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले टोल टोलमा पुगेर ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निशुल्क गरेको छ ।

११ वटै वडाका ६३ वटा टोलमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारीलगायत सरोकारवालाहरुको सहयोगमा ६ हजार ६५ जना जेष्ठ नागरिकलाई सेवा दिएको स्वास्थ्य शाखा प्रमुख सुनिल के.सी.ले जानकारी दिए । उनका अनुसार, १ हजार ५ सय ३५ जनाको रक्तचाप मापन, १ हजार ४ सय ८३ जनाको मधुमेह जाँच, ८ सय ६० जनाको अन्य जाँच गर्नुका साथै ७ सय ५२ जनालाई निःशुल्क औषधी वितरण गरिएको छ । १ हजार ४ सय ३५ जनालाई परामर्श प्रदान गरिएको उनले जानकारी दिए ।

 

 

जेष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा सेवा दिने पूर्व प्रतिवद्धता अनुसार ‘जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरिएको नगर प्रमुख कुनसाङ लामाले बताए ।  आफू निर्वाचित भएपछि गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेको नगर प्रमुख लामाले बताए । पदभार ग्रहण गर्ने क्रममा लामाले जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने, निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य विमा कार्यक्रम क्रमशः संचालन गर्ने लगायतका निर्णयमा हस्ताक्षर गरेका थिए ।

 

नगरपालिकाले यसअघि १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको थियो । स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस