विपद प्रतिकार्य गर्न रोशी गाउँपालिकाले तयार गर्यो जनशक्ति

नौलो समाचार संवाददाता
२०८१ अषाढ १९, बुधबार मा प्रकाशित १०० पटक पढिएको
विपद प्रतिकार्य गर्न रोशी गाउँपालिकाले तयार गर्यो जनशक्ति

भकुण्डेवेशी / रोशी गाउँपालिकाले विपद प्रतिकार्य गर्न जनशक्ति तयार गरेको छ ।

रोशी गाउँपालिकाका सबै वडा, रेडक्रसकर्मी, कर्मचारी समेत गरी ५२ जनालाई ३ दिनसम्म तालिम दिएर गाउँपालिकाले विपद प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव रहेका इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिए ।

भकुण्डेवेशीस्थित भद्रदल गणका क्याप्टेन समिर अधिकारी,  इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख रहेका प्रहरी निरीक्षक कृष्ण गिरि लगायत सुरक्षाकर्मीले प्राविधिक तालिम दिएका थिए ।

तयार गरिएका ती जनशक्ति गाउँपालिका र आसपासका क्षेत्रमा हुन सक्ने विपदका घटनामा परिचालित हुने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए ।

समापन समारोहमा रोशी  गाउँपालिका अध्यक्ष दिनेश लामाले विपद व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी हो भन्ने मान्यता चिर्न  समुदायको सहभागिता बढाउन तालिम सञ्चालन गरिएको भन्दै प्रतिकार्यको लागि सामुहिक प्रयास आवस्यक रहेको बताए ।

रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले तालिममा  सिकेका ज्ञान र सीपलाई विपदमा प्रयोग गर्न अनुरोध गर्दै सहकार्य गर्न तयार रहेको  बताए ।

भकुण्डेस्थित भद्रदल गणका गणपति नाइजेल सुव्वाले विपदमा ‘फस्ट रेस्पोन्डर’को रुपमा रहेका समुदायका मानिसलाई विपद पुर्व, विपदको क्रममा र विपद पस्चात खेल्नुपर्ने भुमिका बारे तालिम दिइएको भन्दै जनशक्ति संगै श्रोत, साधन पनि तयार गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपि) वसुन्धरा खड्काले विपद व्यवस्थापन सुरक्षाकर्मीको मात्र नभई समुदायको पनि जिम्मेवारी भएको भन्दै यो तालिमपछि विपदका घटनामा जनधनको क्षती कम हुने विश्वास व्यक्त गरिन् ।

सशस्त्र प्रहरी बल १५ नम्बर गण (हे.क्वा), पाँचखालका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार महतले विपद प्रतिकार्यको लागि सशस्त्रले धुलिखेल र आइटीपार्कमा बेस खडा गरिएको जानकारी दिदै तालिम लिने जनशक्तिले विपद व्यवस्थापनमा प्राथमिक काम गर्ने विश्वास व्यक्त गरे ।

सहभागीको तर्फबाट नेपाल रेड्क्रस सोसाइटी मंगलटारका राजेन्द्रप्रसाद अधिकारी, लक्ष्मी वाइवाले सानो प्रयासले कसरी ज्यान जोगाउन सकिन्छ भन्ने सिकाइ भएको भन्दै मानवीय सेवामा लाग्न प्रेरित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस