आफैलाई ‘अन्तर्घात गर्ने’लाई ‘आममाफी दिन’ केन्द्रीय सदस्य हुमागाईले गरे प्रस्ताव

नौलो समाचार संवाददाता
२०८१ अषाढ २२, शनिबार मा प्रकाशित ३३० पटक पढिएको
आफैलाई ‘अन्तर्घात गर्ने’लाई ‘आममाफी दिन’ केन्द्रीय सदस्य हुमागाईले गरे प्रस्ताव

बनेपा / प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ‘अन्तर्घात गरेर’ हराएको भन्दै कार्वाही सिफारिस भएका पार्टीका नेताहरुलाई ‘आममाफी दिन’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका छन् ।

नेपाल विद्यार्थी संघ काभ्रेले बनेपामा आयोजना गरेको एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै हुमागाईले पार्टीलाई एकतावद्ध र बलियो बनाउन कार्वाही फिर्ता गर्न प्रस्ताव गरेका हुन् ।

प्रतिनिधी सभा क्षेत्र नं २ बाट हुमागाई नै उम्मेदवार हुँदा ‘अन्तर्घात गरि हराएको’ भन्दै नेपाली कांग्रेस काभ्रेले केन्द्रीय सदस्य मधुप्रसाद आचार्य,  गणेश लामा, प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई केन्द्रीय समितिलाई कार्वाही सिफारिस गरेको थियो । बाग्मती प्रदेश महामन्त्री रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगर सभापति महेशकुमार कर्माचार्यलाई ‘बनेपा क्षेत्रबाट प्रत्यक्षमा कम मत आउनाको कारणबारे स्पष्टीकरण सोध्ने’ निर्णय गरेको थियो ।

नेविसंघको कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले पार्टीमा अन्तरघात गर्नेलाई आममाफी दिएर पार्टीमा उर्जा भर्नुपर्ने बताए । ‘हामीले अनुशासनको कार्वाही गरेको दुई बर्ष भयो, यो विचमा धेरै राजनीतिक परिवर्तन भयो, धेरै सरकार परिवर्तन भयो, ग्रासरुटमा हामीले गएर हेर्यौ, १३ वटै पालिकामा हामीले चुनाव जितेका छौं, पार्टी मजबुद छ तर साथीहरुमा उर्जा छैन, मैले यसबारे बुझ्ने प्रयत्न गरे, कार्यक्रममा, टोलमा पुग्दा बुझे, सबैको एकै कुरा सुने, पार्टीभित्र एकता कायम गर्नुस्, नेताहरुको विभाजनले हामीमा उर्जा आएन, हामी हिड्न सकेनौं, ’ उनले कार्यक्रममा भने, ‘यदी त्यसो हो भने सभापति ज्यू, तपाईको साथमा रहेर अनुरोध गर्न चाहन्छु, हामीलाई हिजो अन्तर्घात गर्ने साथीहरु, चुनाव हराउन लाग्ने साथीहरुले गल्ती गरेकै हो, चुनाव हराउन लागेकै हो, चुनाव हराउन लागेका मध्ये केही मञ्चमा हामीसँगै माला लगाइरहने, केही साथीहरुलाई कार्वाही गर्ने कामबाट हामी माथि उठौं, जुन पार्टी पद्धतीबाट हामीले कार्वाही गरेका थियौं, त्यही पद्धतीबाट आममाफी दिउँ, यसले काभ्रे कांग्रेसलाई थप उर्जा दिनेछ, हौसला दिनेछ र पार्टीमा एकलाइन स्थापित हुनेछ, यो मेरो आग्रह हो, अनुरोध हो ।’

उनले पार्टीका साथीहरुविचको असमझदारी हटाएर अघि बढ्नुपर्ने बताए । ‘साउथ एशियाका नेता एपीजे अब्दुल कलाम आजादले भनेका छन्, नङ लामो भयो भने नङ काट्ने हो, औंला काट्ने हैन, पार्टीका साथीहरु विचमा कन्फ्युजन भयो भने, मिसअन्डरस्ट्याण्डिङ भयो भने, इगो फाल्ने हो, साथी फाल्ने हैन,’ उनले भने, ‘ प्रत्येक साथीहरुले यो बुझ्न जरुरी छ, कन्फ्युजन, मिसअन्डरस्ट्याण्डिङ हुन सक्छ, त्यसो हुँदा साथी नै फाल्ने कुरा गलत हो, अपरिपक्व हो, अराजनीतिक, पार्टी राजनीति नबुझेको चरित्र हो, त्यसैले नङ लामो हुन्छ, नङ छोडौं, औला जोगाऔं, मिसअन्डरस्ट्याण्डिङ हुन्छ, मिसअन्डरस्ट्याण्डिङ छोडौं, साथी जोगाऔं, यसले पार्टीलाई राम्रो हुन्छ ।’

पार्टी सभापति तीर्थ लामाको साथमा आफू सधै रहेको भन्दै उनले नेपाली कांग्रेस काभ्रेलाई बलियो बनाउने सभापतिको स्प्रिटलाई सधै सम्मान गर्ने बताए । ‘पार्टी सभापतिले म यो पार्टीलाई अत्यन्त राम्रो, बलियो बनाउन चाहन्छु, संस्थागत बनाउन चाहन्छु, व्यवस्थित गर्न चाहन्छु, यही पार्टीको माध्यमबाट काभ्रे कांग्रेस र काभ्रेली जनतामा उत्साह भर्न चाहन्छु, ’ उनले भने, ‘म उहाँलाई अत्यन्त सम्मान गर्न चाहन्छु, म उहाँसंग हिजो पनि थिए, आज पनि छु र भोली पनि रहन्छु ।’

प्रतिक्रिया दिनुहोस