उच्च शिक्षा अध्ययन गर्न पनौती नगरपालिकाले ९४ विद्यार्थीलाई दियो १० लाख १५ हजारको छात्रवृति

नौलो समाचार संवाददाता
२०८१ अषाढ २४, सोमबार मा प्रकाशित १२४ पटक पढिएको
उच्च शिक्षा अध्ययन गर्न पनौती नगरपालिकाले ९४ विद्यार्थीलाई दियो १० लाख १५ हजारको छात्रवृति

पनौती – पनौती नगर क्षेत्रभित्रका सामुदायिक क्याम्पस र उच्च माविमा अध्ययनरत ९४ विद्यार्थीलाई पनौती नगरपालिकाले ९४ विद्यार्थीलाई दियो १० लाख १५ हजारको छात्रवृति प्रदान गरेको छ ।

सोमबार एक कार्यक्रम गरेर नगरपालिकाले पनौतीस्थित इन्द्रेश्वर क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस र कुशादेवी क्याम्पस र इन्द्रेश्वर माविमा अध्ययनरत ती विद्यार्थीलाई १० हजारदेखि अधिकतम ३० हजार सम्म छात्रवृति उपलव्ध गराएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपानेका अनुसार, नगरपालिकाले गतबर्षदेखि नै ‘विद्यालय तथा उच्च शिक्षा अध्ययन छात्रवृति कार्यक्रम’को लागि बजेट विनियोजन गरेको थियो ।

नगर भित्रकै सामुदायिक क्याम्पस र माध्यमिक तह (प्लस टु) अध्ययरत नगरवासीका साथै अन्यत्रबाट आएर पनौतीमा अध्ययनरत ए ग्रेड ल्याएका विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको शिक्षा शाखामा कार्यरत श्रोत व्यक्ति महेश्वर जंगमले जानकारी दिए ।

आर्थिक अवस्थाका कारण कोही पनि शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले बजेट विनियोजन गरेको नगर प्रमुख भण्डारीले जानकारी दिए । छात्रवृति हस्तान्तरण गर्दै नगर प्रमखु भण्डारीले घरमा नै बसेर उच्च शिक्षा हासिल गरेर आफ्नो शैक्षिक उन्नती गर्न प्रेरणा दिन छात्रवति प्रदान गरिएको बताए ।

नगर उपप्रमुख गिता वञ्जाराले विगतका बर्षमा क्याम्पसलाई अनुदान दिने गरेको र थप नतिजा निकाल्न र प्रत्यक्ष लाभान्वित हुन भन्ने उद्धेश्यले विद्यार्थीलाई नै छात्रवृति प्रदान गरिएको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, शिक्षा शाखाका अधिकृत पुष्पा अर्याल लगायतले छात्रवृति रकम सुदपयोग गर्दै भविष्य निर्माणमा लाग्न सबैलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस