कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित १० को मृत्यु, १ बेपत्ता

नौलो समाचार संवाददाता
२०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित ११० पटक पढिएको
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित १० को मृत्यु, १ बेपत्ता
तस्वीर: इकान्तिपुर डटकमबाट

कास्की — बिहीबार रातिदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित १० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएकी छन् ।

पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर निधन भएको थियो ।

पोखरा–३२ चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादी गाउँपालिका–११ तल्लो साप्लेमा पहिरोमा ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता छिन् । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस