‘विना योजना’ गरिएको विकासले बनेपा वडा नं १४ मा ‘विनाश’

नौलो समाचार संवाददाता
२०८१ अषाढ ३१, सोमबार मा प्रकाशित ३५५ पटक पढिएको
‘विना योजना’ गरिएको विकासले बनेपा वडा नं १४ मा ‘विनाश’
बनेपा वडा नं १४ मा खनिएको खेलमैदान । खेलमैदानबाट निस्किएको लेदो, भलका कारण स्थानीयको घर, तरकारी खेती जोखिममा छ भने आशापुरी महादेव जाने बाटो अवरोध हुँदा स्थानीय र भक्तजनले सास्ती बेहारेका छन् ।

आशापुरी/ ‘विना योजना’  गरिएको विकासले विनाश ल्याउँछ भन्ने उदाहरण बनेपा नगरपालिका वडा नं १४, आशापुरीमा देखिएको छ ।

नगरपालिकाबाट विनियोजन भएको २ लाख रकमबाट खेलमैदान बनाउन खनिएको जग्गाबाट झरेको लेदो, भल र ढुङ्गाका कारण स्थानीयको घर जोखिममा परेको छ भने यातायात अवरुद्ध हुँदा स्थानीय, विद्यालय जाने बालबालिकाले सास्ती बेहोरेका छन् ।

नगरपालिकाले विनियोजन गरेको २ लाख बजेटबाट काम भएको कारण समस्या हुँदा पनि वडाले चासो देखाएको छैन ।

त्यहाँ रहेको सार्वजनिक पर्ति जग्गामा खनिएको खेलमैदानका कारण पहिरो जाँदा स्थानीय काइला तामाङको घर जोखिममा छ । ‘पहिला कुनै समस्या हुँदैन, तपाईको घरमा कुनै क्षति हुदैन, पर्खाल लगाइदिन्छौं भने तर पछि घर नजिकै र बाटोमा माटो थुपारे,’ उनले भने, ‘बर्षामा भेल र लेदोले लगाएको तरकारी पनि पुर्यो, घर पनि जोखिममा छ ।’

लेदो र हिलोका कारण यातायातका साधनहरुले समस्या भोग्ने गरेका छन् । विद्यार्थीहरुले सास्ती खेप्नुपरेको छ । प्रसिद्ध आशापुरी महादेव मन्दिर जान पनि सोही बाटो प्रयोग गरिन्छ । मन्दिरमा लाग्ने साउने मेलामा विभिन्न जिल्लावाट भक्तजनको घुइचो लाग्ने भएपनि बाटोको अवरोधका कारण भक्तजनहरुले सास्ती खेप्ने देखिएको छ ।

नगरपालिकाले नै सोही वडामा ५ लाख बिनियोजन गरेर खोल्सामा बनाएको खेल मैदानले पनि पछि जोखिम ल्याउने देखिएको छ । तत्काल असर नदेखिएपनि खोल्सामा ह्युमपाइप हालेर बनाइएको खेलमैदानले जोखिम गराउने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नगर प्रमुख शान्तीरत्न शाक्यले नगरले वडालाई दिएको बजेटबाट काम भएको भन्दै ‘पन्छिन’ खोज्दै उपप्रमुखले पक्कै अनुगमन गरेको हुनुपर्ने तर्क गरे । ’ ‘वडालाई दिएको बजेट हो, वडाले नै काम गर्छ, उपभोक्ता समितिमार्फत वडाले नै अनुगमन गर्छ,’ उनले भने, ‘पुरा खेलमैदान नै बनाएको हैन, खेलमैदान बनाउनको लागि जग्गा सम्याएको होला, र ह्युम पाइप माथि खेलमैदान बनाएको मलाई जानकारी छैन, पक्कै पनि बनाउन मिल्ने नै ठाउँमा बनाउनुभएको होला ।’

उपप्रमुख विमला सापकोटा दाहालले खेलमैदान बनाउने क्रममा झरेको भल, लेदो र पहिरोको कारण समस्या भएको आफूले पनि जानकारी पाएको भन्दै त्यसलाई तत्कालको लागि समस्या समाधान भइसकेको बताइन् । ‘नगरले दुई लाख विनियोजन गरेका हौं, पर्ती जग्गा सम्याएर खेल्न योग्य मात्रै बनाउन खोज्नुभएको रहेछ,’ उनले भनिन्, ‘सम्याउन बढी डोजर लगाएको कारण बर्षामा भल, लेदोको कारण सडकमा अवरोध भएको रहेछ, घर माथि माटो पनि थुपारेको रेछ, घरमा पनि असर परेको जानकारी त हामीलाई छैन तर लेदोको कारण अवरुद्ध सडक नगर पालिकाकै डोजर पठाएर खटाइसक्यौ ।’ नगरपालिकाले बजेट विनियोजन गरेपनि ५ लाखसम्मको योजना आफूले अनुगमन नगर्ने भन्दै त्यो वडाको जिम्मेवारी भन्दै ‘पन्छिइन्’ ।

वडा अध्यक्ष टुल्कु लामाले नगरबाट बिनियोजन गरिएको बजेटबाट भएको कामले समस्या भएको गुनासो आएको भन्दै नगरसंग समन्वय गरेर समाधान गर्ने बताए । ‘२ वटै खेलमैदान प्राविधिक स्टमेट अनुसार नै गरिएको हो तर बर्षाको कारण आशापुरी खेलमैदानले समस्या दियो, यहाँबाट बगेकोले बाटोमा हालिएको ग्राभेल पुरिएर आवतजावतमा नै समस्या भयो, स्थानीयको घर पनि जोखिममा छ,’ उनले भने, ‘आगामी दिनमा हुन सक्ने थप समस्याको लागि वडा र नगर बसेर समस्या समाधान गर्नुपर्छ भन्ने लागेको छ । ’

प्रतिक्रिया दिनुहोस