धुलिखेलमा कांग्रेसको संगठनका साथै विकास निर्माणबारे चासो व्यक्त

नौलो समाचार संवाददाता
२०८१ श्रावण ३, बिहिबार मा प्रकाशित २८६ पटक पढिएको
धुलिखेलमा कांग्रेसको संगठनका साथै विकास निर्माणबारे चासो व्यक्त

धुलिखेल / नेपाली कांग्रेस काभ्रेले धुलिखेल नगरपालिकामा भइरहेको विकास निर्माण र पार्टी सगठनका बारेमा चासो र चिन्ता प्रकट गरेको छ ।

जिल्ला कार्यसमितिको नियमित घुम्ती बैठकपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने नेता र कार्यकर्ताले २०८४ मा हुने निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन एक ढिक्का भएर लाग्नुपर्ने बताए । अन्तरक्रियामा सहभागी जनप्रतिनिधीले आफ्नो नेतृत्वमा भएका विकास निर्माणका काम र त्यसको प्रभाव बारे जानकारी गराएका थिए ।

वडा नं १ का सभापति समेत रहेका वडाअध्यक्ष सन्तबहादुर तामाङले जेष्ठ नागरिकलाई घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि राम्रो प्रतिकृया आएको भन्दै प्रदेश सरकारबाट तत्कालीन मन्त्री तिर्थ लामाले बजेट विनियोजन गराएकोमा आभार प्रकट गरे ।

वडा नं २ का सभापति रहेका दर्णबहादुर खत्रीले आफ्नो वडामा विकास बजेटमा अनियमितता भएको भन्दै त्यसमा खबरदारी गरिरहेको बताए । उनले वडा नं ३ हुँदै चप्लेटी खत्रीगाउँ जाने बाटो, डुँडामुखसम्मको बाटो कालोपत्रे गर्न पहल गरिदिन जिल्ला नेतृत्वलाई अनुरोध गरे ।

वडा नं ३ का सभापति मधुसुदन खत्रीले एकमन र एकमत भएर जाँदा निर्वाचन जित्न सकिने भन्दै वडा नं ३ को तल्लो भेग र वस्तीमा विकास गरिदिन अनुरोध गरे ।

वडा नं ४ का सभापति समेत रहेका वडाअध्यक्ष उत्तम तिमल्सिनाले पक्की सडक पूर्वाधार, ढल निकासमा जोड दिएको भन्दै जेष्ठ नागरिक सम्मान, एसइई सम्मान, सुत्केरी पोषण भत्ता जस्ता कार्यक्रम प्रभावकारी भएको बताए ।

वडा नं ५ का सभापति भवसागर रञ्जितकारले विकास निर्माणका काममा वडा सरकारले पार्टीसँग कुनै समन्वय नगरेको भन्दै उपभोक्ता समिति र अनुगमनमा समेत एकलौटी गरेको गुनासो गरे ।

वडा नं ६ का सभापति सुवर्ण चोच्छे श्रेष्ठले नगरपालिकामा भइरहेको अनियमिततको बारेमा सबै चुप भएको भन्दै पार्टीले भूमिका खेल्नुपर्ने बताए ।

वडा नं ७ का सभापति दिपेश घिनाञ्जु श्रेष्ठले वडामा विकास निर्माणका काम सञ्चालन हुन नसकेको भन्दै स्मार्ट सिटीको कुरा गफमा मात्रै सिमित गरेको बताए ।

वडा नं ८ का अध्यक्ष विनोद गौतमले १ किलोमिटर सडक ढलान, साढे २ किलोमिटर कालोपत्रे, पक्की नाला निर्माण गर्नुका साथै गर्भवती महिलालाई पोषिलो आहारसहित नर्सिङ सुविधा उपलव्ध गराएको बताए । पार्टीमा एकता कायम गराएर जानुपर्ने बताए ।

वडा नं ९ का सभापति वलराम सिग्देलले बाग्मती प्रदेश सरकारका पूर्व मन्त्री तिर्थ लामामार्फत वडामा ६ करोड बजेट विनियोजन भएको भन्दै आभार प्रकट गरे ।

वडा नं १० का अध्यक्ष गोविन्द उपाध्यायले पूर्वमन्त्री तीर्थ लामाका कारण खानेपानीको लागि अहिलेसम्मको ठूलो बजेट आएको भन्दै आभार प्रकट गरे । स्वस्थ्य शहर धुलिखेलको नारा अघि सारिएपनि चोकमा शौचालय नभएको भन्दै उनले गफ भन्दा काम गर्न नगर प्रमुखलाई अनुरोध गरे ।

वडा नं ११ का सभापति नारायण ओझाले हनुमान मन्दिर निर्माणको लागि बजेट विनियोजन गर्न सहयोग गरेकोमा पूर्वमन्त्री लामालाई आभार प्रकट गरे ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सदस्य समेत रहेका धुलिखेल नगर उपप्रमुख निराजन जंगमले नगरपालिकामा विना छलफल बजेट पारित भएको गुनासो गरे । ‘सुख–दुखः मा धुलिखेल कांग्रेस’ अभियान चलाएर आवस्यकता पर्नेलाई सहयोग गरिरहेको भन्दै उनले पार्टीलाई असर पर्ने कुनै पनि काम नगरेको बताए । पूर्वमन्त्री एवं पार्टी सभापति तीर्थ लामामार्फत धुलिखेलमा १० करोड भन्दा बढी रकमको योजना कार्यान्वयन भएको भन्दै उनले आभार प्रकट गरे ।

पार्टी जिल्ला सदस्य जितकृष्ण घिनाञ्जु, धुलिखेल ९ का वडा सदस्य बालकृष्ण गौतमले धुलिखेलमा स्थापना हुन लागेको महामानव वी.पी कोइरालाको शालिक राख्नको लागि सहयोग गर्न पार्टीका सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

धुलिखेल ३ का निरोजप्रसाद नेपालले चुनावमा अन्तर्घात गरेको भन्दै कार्वाही गरिएका पार्टी नेताका बारेमा प्रश्न गरेका थिए ।

अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति एवं वाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनको लागि सबैको उत्तिकै महत्व रहेको बताए । धुलिखेलमा कांग्रेसको संगठनमा सुधार आएको भन्दै उनले २०८४ सालको निर्वाचनमा प्रमुखसहित उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरु जिताउने गरी लाग्न सबैलाई निर्देशन दिए । उनले अन्तरक्रियामा आएका सुझाव आफूले अक्षरशं पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले पार्टी विधान अनुसार नै गतिविधी र निर्णय हुने स्पष्ट पारे ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, महासमिति सदस्य इश्वरी ओझा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम तामाङ, नेपाली कांग्रेस धुलिखेल नगर सचिव सुरज श्रेष्ठलगायतले पार्टी बलियो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेस धुलिखेलका सभापति विदुर बस्नेतले पार्टी संगठन निर्माणमा कृयाशिल हुन सबैमा आग्रह गरे ।

कार्यक्रममा हरिशरण धिमालको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेस, समिर श्रेष्ठको अध्यक्षतामा निर्माण तथा सम्बद्ध श्रमिक संघ र रञ्जिव तामाङको अध्यक्षतामा नेपाल तामाङ संघको धुलिखेल नगर कार्यसमिति चयन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस