तारादेवी सुनुवारको कृति ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

नौलो समाचार संवाददाता
२०८१ श्रावण ५, शनिबार मा प्रकाशित ४९० पटक पढिएको
तारादेवी सुनुवारको कृति ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

काठमाडौ । कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूती समेटेर तयार गरेको अनुभूतिहरुको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।

महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई ताराले पुस्तकको रुप दिएकी हुन् ।

रोल्पाली दिदिबहिनीहरूसँगको बसाई र उनीहरुले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको लेखक तारादेवीले बताइन् । पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्दकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरु समेटिएको उनले जानकारी दिइन् । तत्कालीन शसस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरु पुस्तकमा छन् । २०७१ सालमा जागिरको सिलसिलामा सुनुवार रोल्पामा कार्यरत थिइन् ।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउँने तारा मुलत: कवि हुन् । यसअघि नेपाली भाषामा कवितासंग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसंग्रह ‘सम्झनाका फूलहरु’ प्रकाशित छन् । सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह ’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’ र गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

पेज टर्नरले प्रकाशनमा ल्याएको पुस्तक शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा एक कार्यक्रमविच साहित्यकार डा. नवराज लम्साल, प्रतिक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले लोकार्पण गरे ।

डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे । तत्कालीन शसस्त्र युद्धको बिषयबस्तु भएपनि विचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाईमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए । जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताए ।

साहित्यकार प्रतिक ढकालले आफ्नै बल र क्षमताले स्थापित भएका तारा यो कृति पछि धर्तीको तारा नभई आकाशको तारा भएको प्रतिकृया दिए ।

कवि तथा निवन्धकार मोमिला जोशीले उत्कृष्ट कृति तयार भएको भन्दै देश बुझ्न प्रत्येक व्यक्तिले एकपटक पढ्नै पर्ने पुस्तक भएको बताइन् ।

नेपाल सरकारका सहसचिव राजन पौडेलले तारामा ‘जब्बर र घामट’ चरित्र रहेको भन्दै चुपचाप जागिर खाएर मात्रै बस्ने सहुलियत छोडेर युद्धका अनुभूति लेखेर सबैलाई यसको अनुभूती गराएको बताए ।

सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष रहेका गृह मन्त्रालयका उपसचिव अमरदिप सुनुवारले सशस्त्र द्वन्दको सचित्र व्याख्या पुस्तकले गरेको बताए ।

कथाकार डा. अशोक थापाले ४० औं कथा बन्न सक्ने आख्यान अनुभूतिसंग्रहमा रहेको भन्दै आगामी दिनमा राम्रो आख्यानकार बन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस