काभ्रे पोष्ट साप्ताहिकका संस्थापक सम्पादक ओझासहित विभिन्न व्यक्तित्व सम्मानित

नौलो समाचार संवाददाता
२०८१ श्रावण ६, आईतबार मा प्रकाशित ८११ पटक पढिएको
काभ्रे पोष्ट साप्ताहिकका संस्थापक सम्पादक ओझासहित विभिन्न व्यक्तित्व सम्मानित

बनेपा / काभ्रेपोष्ट साप्ताहिकले संस्थापक सम्पादक इश्वरी ओझासहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओझासहित पुर्व कार्यकारी सम्पादक शिव दाहाल, पुर्व व्यवस्थापक दिपेन्द्र लामा, सरोज अधिकारीसहित उत्कृष्ट कर्मचारी बालकृष्ण बजगाईं सम्मानित भएका हुन् ।


साप्ताहिकका संस्थापक स्व. विष्णु प्रसाद चौलागाईंले स्थापना गरेको ‘कोशीपारी पत्रकारिता पुरस्कार’बाट गोरखापत्रका काभ्रे सम्वाददाता केदार तिमल्सिना र कान्तिपुर दैनिकका काभ्रे सम्वाददाता ज्योति श्रेष्ठलाई पुरस्कृत गरियो ।

पत्रिकाको विकास र प्रवर्द्धनमा सहयोग गर्ने ग्राफिक डिजाइनर खगेन्द्र कार्की, स्तम्भकार चुडाप्रसाद चौलागाईं, निर्माण व्यवसायी कृष्णहरि चौलागाईं सहित विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेललगायतले उनिहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता र सामाजिक संजालविचको भेद छुट्याउन अप्ठ्यारो भइरहेको बताए । पत्रकारिता कडा मिहेनत गर्नुपर्ने बिशिस्ट पेशा भएको भन्दै उनले स्व. विष्णु चौलागाईंले आफ्नो मिहिनेतले काभ्रे पोष्ट स्थापित गरेको बताए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोनाकालमा ३६ जना पत्रकार गुमाउनुपरेको तथ्य पेस गर्दै पत्रकारितामा स्व. बिष्णु चौलागाईंले खेलेको भुमिकाको प्रशंसा गरे । पत्रकारितालाई विभिन्न क्षेत्रबाट संकट आएको भन्दै उनले पत्रकार आफ्नै कारण पनि संकट भएको तर्क गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष रघुवर चौप्रधान, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल पत्रकार महासङ्घ काभ्रेका पुर्व अध्यक्ष एवं संस्थापक सम्पादक इश्वरी ओझा, काभ्रे पोष्ट प्रकाशन प्रा. लि. का अध्यक्ष राधिका चौलागाई, सम्पादक दिपकप्रसाद चौलागाईं, स्तम्भकार चुडाप्रसाद चौलागाईं लगायत वक्ताले पत्रकारिता क्षेत्रमा स्व. विष्णुप्रसाद चौलागाईंले खेलेको भुमिकाबारे चर्चा गरेका थिए ।

‘एक्काइसौं शताब्दीको आवश्यकता, विकासमूलक पत्रकारिता’ को लक्ष्य एवं ध्येय लिएर काभ्रेपोष्ट साप्ताहिक २०५७ साउन १५ गतेदेखि निरन्तर प्रकाशित छ ।

पत्रिकाका संस्थापक चौलागाईको कोरोना महामारीको कारण २०७७ कार्तिक १४ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस