धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी र नवजात शिशुको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ श्रावण ९, बुधबार मा प्रकाशित ९१ पटक पढिएको
धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी र नवजात शिशुको मृत्यु
तस्वीर : धुलिखेल अस्पतालको वेवसाइटबाट

धुलिखेल /  थप उपचारको लागि धुलिखेल अस्पताल पुगेकी गर्भवती र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं ९, डाँडागाउँकी ३० वर्षीया माईलीमाया तामाङ र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

गर्भवती भएको ३२ हप्ता ४ दिन भएकी माइलीमाया नियमित गर्भवती जाँच मेथिनकोट अस्पतालमा गराउँदै आएकी थिइन् । साउन ७ गते मेथिनकोट अस्पतालले थप उपचार गर्नुपर्ने भन्दै धुलिखेल अस्पताल ‘रिफर’ गरेको थियो ।

समय नपुगि नै सुत्केरी गराउनुपर्ने अवस्था भएको भन्दै धुलिखेल अस्पताल बुधबार विहान १२ बजेर २० मिनेटमा शल्यक्रिया गरी नवजात शिशु निकालिएको थियो । नवजात शिशुको अवस्था गम्भीर रहेकाले १ बजेर २० मिनेटमा मृत्यु भएको बताइएको छ ।

आमाको पनि अवस्था गम्भीर रहेकाले विहान २ बजेर १५ मिनेटमा सघन उपचार कक्षामा उपचार गरिएकोमा ३ बजेर १५ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।

आमा र शिशु दुवैको मृत्युभएपछि घटनाका बिषयमा नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान समेतको रहोवरमा अस्पताल प्रशासन र मृतक माइलीमायाका श्रीमान कान्छामान लामा तामाङसहित भएको छलफल सहमतिमा टुंगिएको बताइएको छ ।

मृतक परिवारले शव बुझेर अन्तिम संस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस