नमोबुद्ध र रोशीमा रिमरेकको ‘सहकार्य’

नौलो समाचार संवाददाता
२०८१ श्रावण १०, बिहिबार मा प्रकाशित २०० पटक पढिएको
नमोबुद्ध र रोशीमा रिमरेकको ‘सहकार्य’

धुलिखेल /  स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ ।

९ बर्षदेखि अपांगताको क्षेत्रमा काम गरिरहेको रिमरेकले ती दुई स्थानीय तहका शिक्षा, स्वास्थ्य, जिविकोपार्जनका कार्यक्रम अपांगता समावेशी बनाउन ५ बर्षसम्म काम गर्ने रिमरेका कार्यक्रम प्रवन्धक राजन गौतमले जानकारी दिए । सिबिएम ग्लोबलको सहयोगमा सञ्चालन हुने परियोजनमा दुवै स्थानीय तहले सहकार्य गर्नेछन् ।

संस्थाका कार्यकारी निर्देशक गोकूल गौतमले २०७२ सालको महाभूकम्पपछि अपांगता हुनेको संख्या धेरै भएपछि संस्थाले अपांगता र गरिवी निवारणको क्षेत्रमा काम गरिरहेको बताए । उनका अनुसार, परियोजनाको अवधीमा अपांगता भएकाहरुको उपचार लगायत बिषयमा स्वास्थ्य संस्था प्रेषण तथा समन्वय गर्नुका साथै स्वास्थ्यमा पहुँच बढाउनुको साथै जीविकोपार्जनको लागि काम हुनेछ ।

परियोजना सञ्चालन गरिरहेको संस्थाले जिल्लामा कृयाशिल सञ्चारकर्मीसंग अपांगता सम्वन्धी रिपोर्टिङका बारेमा अभिमुखिकरण चलाएको छ ।

अपांगता अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता मुकुन्दहरी दाहालले अपांगता अधिकारका सवाल, समावेशी पत्रकारिता, अपांगमैत्री संचार निर्देशिका २०७३ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अध्यक्ष रमेश गौतम अपांगता अधिकारको क्षेत्रमा काम गर्न सञ्चार क्षेत्रको सहकार्य र सहयोग खोजिएको बताए ।

संस्थाका पुर्व उपाध्यक्ष मधुसुदन गुरागाईले अपांगता अधिकार स्थापित गर्न सञ्चार क्षेत्रले भूमिका खेलेको चर्चा गर्दै लेखन अभ्यास बढाउनको लागि ‘फेलोसिप’ को तयारी गरिएको जानकारी दिए ।

२०५५ साल साउन ५ गते जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता भएको संस्थाले यसअघि वैकल्पिक उर्जा लगायत सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस