नमोबुद्धका शिक्षक आन्दोलित, साउन १४ गतेसम्मको अल्टिमेटम

नौलो समाचार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार मा प्रकाशित ७२४ पटक पढिएको
नमोबुद्धका शिक्षक आन्दोलित, साउन १४ गतेसम्मको अल्टिमेटम

भकुण्डेवेशी /  शिक्षक सरुवा लगायतका बिषयलाई लिएर नमोबुद्धका शिक्षक आन्दोलित भएका छन् ।

संघीय संसदमा ‘संघीय शिक्षा ऐन’ विचाराधीन रहेको अवस्थामा नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी ‘अवैधानिक, पूर्वाग्रही, स्वेच्छाचारी, अव्यावहारिक र अलोकतान्त्रिक’ तरिकाले शिक्षक सरुवा गरेको भन्दै शिक्षक महासंघ लगायतका संघ, संगठन आन्दोलित भएका हुन् ।

नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन नमोबुद्ध नगर कार्यसमितिले संयुक्त रुपमा नमोबुद्ध नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् । नगर उपप्रमुख रत्नबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले ज्ञापनपत्र बुझेका हुन् ।

नेपाल शिक्षक महासंघ नमोबुद्धका अध्यक्ष पञ्चसिं लामा, नेपाल शिक्षक संघका अध्यक्ष दिनेशप्रसाद अधिकारी, नेपाल राष्ट्रिय संगठनका अध्यक्ष महेशप्रसाद कोइराला र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कुलचन्द्र अधिकारीले हस्ताक्षर गरेको ज्ञापनमा शिक्षकको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने,  समग्र नगरको शैक्षिक अवस्थालाई तहसनहस पार्ने गरी ‘व्यक्तिगत प्रतिशोधका आधारमा’ गरिएको सरुवा निर्णयप्रति असहमति जनाउँदै ‘अन्यायपूर्ण सरुवा निर्णय’ बदर नगरिएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु तय गर्न वाध्य हुने उल्लेख छ ।

शिक्षकहरुले बुझाएको ज्ञापन पत्र

लामो समयसम्म शिक्षणमा संलग्न बालविकास कार्यकर्ता देवकी पौडेललाई दिइएको अवकाश तत्काल बदर गर्न पनि उनीहरुले माग गरेका छन् ।

ती संघ संगठनले शिक्षकहरुलाई नगरपालिकाको सरुवा पत्र नबुझी कार्यरत रहेकै विद्यालयमा ‘अविचलित भई’ पठनपाठन गर्न पनि अपिल गरेका छन् ।

२०८१ साउन १४ गतेभित्र माग सम्बोधन नगरिए सशक्त चरणबद्ध आन्दोलन गरिने प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाई, धुलिखेल र संगठनका राष्ट्रिय र जिल्ला समितिलाई बोधार्थ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस