धार्मिक कथावाचक देवी प्रतिभा गृह जिल्ला काभ्रेमा सम्मानित

नौलो समाचार संवाददाता
२०८१ श्रावण १२, शनिबार मा प्रकाशित २५६ पटक पढिएको
धार्मिक कथावाचक देवी प्रतिभा गृह जिल्ला काभ्रेमा सम्मानित

पनौती /धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ ।

आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती नगरपालिकाले शनिवार पनौतीमा एक कार्यक्रम गरेर सम्मान गरेको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी.ले जानकारी दिए ।

पशुपति क्षेत्र, वनकाली काठमाडौंमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आएको बखत उनलाई सम्मान गरिएको हो । देवी प्रतिभाले पनौतीको इन्द्रेश्वर मन्दिर, मुक्तिनाथ मन्दिर पुगेर दर्शन अवलोकन गरेकी थिइन् ।

नगर प्रमुख रामशरण भण्डारीले धार्मिक स्थल पनौतीमा सत्ययुग, द्वापरयुग र रामायणकालिन इतिहास रहेको भन्दै पवित्र स्थलको नामको भारतमा गलत व्याख्या भएको भन्दै त्यो भ्रम चिरिदिन र पनौतीको महिमाबारे प्रचार प्रसार गरिदिन अनुरोध गरे ।

सम्मानपछि देवी प्रतिभाले आफ्नो गृहजिल्लामा अपनत्व प्राप्त गरेको अनुभव सुनाइन् ।

मण्डनदेउपुर नगरपालिकाले पनि उनलाई साउन १३ गते आइतबार गृह नगरमा सम्मान गर्ने भएको छ । वडा नंं ५ स्थित ब्रम्हायणी मन्दिरमा पनि उनलाई सम्मान गर्ने तय भएको जानकारी प्राप्त भएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिएकी प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहेकी छन् । प्रारम्भिक शिक्षा समेत नेपालमै हासिल गरेकी प्रतिभा अध्ययनको लागि वृन्दावन पुगेकी थिइन् । उनले संस्कृतमा आचार्य तह पुरा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस