नेपालमा नै पहिलो पटक काभ्रेमा उड्डयन बिषयमा स्नातक तहको पढाई हुने

नौलो समाचार संवाददाता
२०८१ श्रावण १४, सोमबार मा प्रकाशित १९६ पटक पढिएको
नेपालमा नै पहिलो पटक काभ्रेमा उड्डयन बिषयमा स्नातक तहको पढाई हुने

बनेपा / नेपालमै पहिलो पटक काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ बिषयमा स्नातक तहकोे पढाई हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेंचर र सिद्धार्थ वनस्थलीको साझेदारीमा बनेपामा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ पढाई हुन लागेको हो ।

केयूको विस्तारित कार्यक्रम अन्तर्गत यसै बर्ष ३३ जना भर्ना हुने सिम्रिक भेञ्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । अध्ययनकै लागि विदेशिनु पर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्ने भेञ्चरको दाबी छ । उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश गरिएका छन् ।

विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको पाठ्यक्रमले विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण प्रदान गर्ने उनीहरुको दाबी छ ।

विद्यार्थीहरूले उड्डयन प्रविधिहरू, उपकरणहरू र प्रणालीहरू सहित उड्डयनका विभिन्न पक्षहरूबारे सिक्नेछन् । जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका पनि सिक्नेछन् ।

विस्तारित कार्यक्रम उद्धघाटन गर्दै केयूका उपकुलपति डा. भोला थापाले समयको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न केयूले विभिन्न बिषयमा अध्ययन अध्यापन थालेको बताए ।

कार्यक्रममा केयू स्कुल अफ म्यानेजमेन्टका डिन विजय के.सी., पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत प्रदिपराज पाण्डे, हिमालयन एयरलायन्सका विजय श्रेष्ठ, सिदार्थ वनस्थली इन्स्टिच्युटका अध्यक्ष पुष्पराम के.सी., सञ्जीव उदास लगायतले उड्डयनको बिषय अध्ययन शुरुवात हुनुले नेपालमा नै दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस