धुलिखेल अस्पतालमा मनाइयो ‘बेसिक लाइफ सपोर्ट’ डे

१५ सय भन्दा बढीलाई बेसिक लाइफ सपोट तालिम
नौलो समाचार संवाददाता
२०८१ श्रावण १५, मंगलबार मा प्रकाशित २८८ पटक पढिएको
धुलिखेल अस्पतालमा मनाइयो ‘बेसिक लाइफ सपोर्ट’ डे

धुलिखेल / धुलिखेल अस्पतालले प्रत्येक बर्ष साउन १५ गते मनाउँदै आएको ‘बेसिक लाइफ सपोर्ट डे’ यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

मंगलबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले मानव जीवन रक्षाको लागि बेसिक लाइफ सपोर्टका विभिन्न विधीको महत्व रहेको चर्चा गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठले जीवनको महत्व धेरै हुने भएकोले यसको रक्षाको लागि स्वास्थ्यकर्मीका साथै हरेक नागरिकले भूमिका खेल्नुपर्ने बताए ।

अस्पतालका प्रशासकीय निर्देशक विराजमान कर्माचार्यले अरुको पीडा कम गर्ने, नयाँ जीवन दिने पेशामा रहेका स्वास्थ्यकर्मीले एउटा व्यक्तिको ज्याउन जोगाउन सक्नु नै जीवनको सार्थकता भएको बताए । धुलिखेल अस्पतालले बेसिक लाइफ सपोटका तालिम दिइरहेको भन्दै थप जनशक्तिलाई प्रशिक्षण दिन तयार रहेको बताए ।

 

अस्पतालका मेडिकल निर्देशक डा. बलराम मल्लले काभ्रे र सिन्धुपाल्चोकका धेरै जनालाई दिएको भन्दै प्रत्येक बेसिक लाइफ सपोट तालिम आवश्यक भएको चर्चा गरे ।

अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विकास पराजुलीका अनुसार, अस्पतालले हालसम्म १५ सय भन्दा बढीलाई बेसिक लाइफ सपोट तालिम दिइसकेको छ । धुलिखेल अस्पतालका १ सय ८० जना, काभ्रेका ३ सय ६९ जना र सिन्धुपाल्चोकका ९ सय ६८ जनाले पहिलो पटक बेसिक लाइफ सपोट तालिम प्राप्त गरेका छन् ।

धुुलिखेल अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत डा. सम्झना बस्नेतका अनुसार, विद्यालयका शिक्षक, माध्यमिक तहका विद्यार्थीहरुलाई तालिम दिने तयारी छ ।

कार्यक्रममा काडमाडौंं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेसमा अध्ययनरत विद्यार्थी र इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीले बेसिक लाइफ सपोटका विभिन्न विधीको बारेमा नाटकीय प्रस्तुतीमार्फत जनचेतना जगाएका थिए ।

बेसिक लाइफ सपोट अन्तर्गत सिपिआर, कृतिम स्वासमार्फत मानिसहरुको जीवन रक्षा भएको अनुभव कार्यक्रममा सुनाइयो ।

प्रतिक्रिया दिनुहोस