पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनको माग

नौलो समाचार संवाददाता
२०८१ श्रावण २७, आईतबार मा प्रकाशित ८२ पटक पढिएको
पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनको माग

धुलिखेल / नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

काभ्रेको धुलिखेलमा बसेकोे केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महासचिव दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा महासंघको निर्वाचनमा देखिएको ढिलाइप्रति युनियनको गम्भीर चासो रहेको उल्लेख छ । सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न युनियनले आग्रह गरेको हो ।

क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्ने युनियनको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरेको छ ।

प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको ठहर गर्दै वर्गीकरण नतिजामा देखिएको त्रुटि सच्याएर पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपालसँग युनियनले माग गरेको छ ।

युनियनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गर्ने युनियनले निर्णय गरेको छ ।

कार्यसम्पादन समितिको बैठकको आतिथ्यता गर्ने वाग्मती प्रदेश कार्यसमिति र व्यवस्थापन गर्ने नेपाल प्रेस युनियन काभ्रेलाई युनियन केन्द्रीय समितिले विशेष आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस