फोनिजको स्थापना दिवसमा बालिकाहरूलाई शैक्षिक सामग्री

नौलो समाचार संवाददाता
२०८१ श्रावण २८, सोमबार मा प्रकाशित २४८ पटक पढिएको
फोनिजको स्थापना दिवसमा बालिकाहरूलाई शैक्षिक सामग्री

धुलिखेल । नेपाल आदिवासी जनजाति पत्रकाबर महासंघ(फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा काभ्रे शाखाले धुलिखेलस्थित बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सामाजिक कार्यमा सहयोग पुर्याउने उद्धेश्यले धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको हेल्प नेपाल नेटवर्क बाल चिल्ड्रेन होम्समा आश्रित २४ बालिकाहरुलाई बालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेको अध्यक्ष इन्द्रबहादुर थापाले बताए ।

सचिव सुरज श्रेष्ठका अनुसार, बालगृहका सह–संयोजक रामप्रसाद श्रेष्ठ र सञ्चालक कर्णबहादुर कार्कीलाई एकमुष्ट रुपमा एक/एक दर्जन कापी, एक/ एक प्याकेट पेन्सिल र कलमसहितका सामाग्री हस्तान्तरण गरिएको हो ।

फोनिज बागमती प्रदेश इञ्चार्ज पेमा लामाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेको भन्दै आभार प्रकट गरे ।

बालगृहका सञ्चालक कर्णबहादुर कार्कीले चिल्ड्रेन होम्समा रहेका बालिकाहरु मध्ये केही नमुना सञ्जीवनी माध्यमिक विद्यालयमा र केही पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत रहेको बताए ।

बालगृहले कक्षा १२ सम्म अध्ययन र बस्ने व्यवस्था मिलाउनुका साथै जीवन विमा समेत गरेको छ । कक्षा १२ उत्तीर्ण गरेपछि वालगृहले बालिकाहरुलाई जीवनयापन र उच्चशिक्षाका लागि ४ देखि ५ लाखसम्म उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस