ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, जनैपूर्णिमा मेलामा दर्शनार्थीको घूँइचो

नौलो समाचार संवाददाता
२०८१ भाद्र ४, मंगलबार मा प्रकाशित ६४३ पटक पढिएको
ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, जनैपूर्णिमा मेलामा दर्शनार्थीको घूँइचो

रोशी /  रोशी गाउँपालिका वडा नं ३ स्थित ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार गरिएको छ ।

महाभारत श्रृखंलामा पर्ने ताराखसे लेक क्षेत्रमा रहेको पोखरी क्षेत्रमा रोशी गाउँपालिकाले संघीय सरकारको पर्यटन मन्त्रायलयमार्फत १ करोडको लागतमा पूर्वाधार तयार गरिएको हो ।

गाउँपालिकाले प्रकाशन गरेको रोशी पुस्तकमा उल्लेख भए अनुसार, कुनै समय ताराको एक टुक्रा खसेर ठूलो खाल्डो बनेको र पछि पानी पर्दा जम्मा भएको पानीले पोखरी बनेको हो । करिब २५ सय ५० मिटरको उचाइमा पानीको पोखरी र महादेवको मन्दिर छ । हरेक साउने संक्रान्तिमा महादेवको मन्दिरमा मेला लाग्छ ।

सो स्थानमा शौचालय, खानेपानी, सिढीं, रेलिङ, ३ वटा पिकनिक स्पटसहितका संरचना निर्माण गरिएको वडा नं ३ का अध्यक्ष धनजित लामाले जानकारी दिए । उनले पर्यटकीय सम्भावना रहेको क्षेत्रमा पहुँच मार्ग निर्माण अति आवश्यक रहेको भन्दै यसलाई प्राथमिकतामा राख्न स्थानीय तह, प्रदेश र संघ सरकारलाई अनुरोध गरे ।

हिमाल, पहाड र तराईका भूभाग एकै पटक देखि भूभागमा पर्यटनको सम्भावना प्रचुर रहेको स्थानीय बताउँछन् । स्थानीय आशाकाजी लामाले सडक पूर्वाधार नै महत्वपूर्ण भएकोले सधै यातायात चल्ने सडक निर्माण गर्न अनुरोध गरे ।

त्यहाँ निर्मित संरचना उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले पर्यटन प्रवद्र्धनको लागि दुरदृष्टि बनााएर गाउँपालिका अघि बढेको भन्दै रोशीमा पर्यटनका सम्भावना धेरै रहेको बताए । ‘पर्यटकीय सम्भावना भएको ताराखसे पोखरी, तिनधारे झरना लगायतका क्षेत्रमा पर्यटकीय क्षेत्र विकास, प्रवद्र्धनको लागि पूर्वाधारहरु निर्माण गर्छौ,’ उनले भने, ‘पर्यटन विकासको लागि पहिलो शर्त पहूँच मार्ग भएकोले सर्वकालिक चल्न सक्ने गरी कम्तीमा ग्राभेल सडक निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्छौं ।’

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले नीजि क्षेत्रसंगको सहकार्यमा ती क्षेत्रमा होटल, रिसोर्ट लागयतका पूर्वाधार निर्माण गर्नुपर्ने बताए । ‘हामीले पर्यटन गुरुयोजना पनि बनाएका छौं, गाउँपालिकामा पर्यटन विकास शाखामार्फत काम गर्छौ,’ उनले भने, ‘पर्यटकीय सम्भावना भएको ताराखसे पोखरी, तीनधारे झरना लगायतका स्थानमा संरक्षण समिति बनाएर यसको विकास र प्रवद्र्धनको काम गर्छौैं ।’ फुल्चोकीबाट ताराखसे पोखरी, सिन्धुलीको घ्याङ लेक हुँदै सिन्धुलीमाढी सम्म निर्माण गरिने पदमार्गको कारण पनि सो क्षेत्रमा पर्यटकीय सम्भावना भएको उनले बताए ।

सोमबार जनैपूर्णिमाको अवसरमा लागेको मेलामा रोशीका विभिन्न वडा र छिमेकी महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानबाट दर्शनार्थीहरु ताराखसे पोखरी आएका थिए । विगतका बर्षमा भन्दा दर्शनार्थीको घुइँचो लागेको वडा अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस