श्रीकृष्ण अष्टमीको दिन काभ्रेमा करिब १० हजार कन्या पूजिए

नौलो समाचार संवाददाता
२०८१ भाद्र १०, सोमबार मा प्रकाशित १७७ पटक पढिएको
श्रीकृष्ण अष्टमीको दिन काभ्रेमा करिब १० हजार कन्या पूजिए

बनेपा /  यो बर्ष पनि श्रीकृष्ण जन्माष्टमीका अवसरमा सोमबार काभ्रेमा १० हजार कन्या पूजिएका छन् ।

जिल्लामा नेवार समुदायको बसोवास रहेको श्रीखण्डपुुर, दाप्चा, साँगा, जनागाल, बुडोल, २८ किलो, पलाञ्चोक लगायतका स्थानमा कन्या पूजा गरिएको हो ।

बनेपामा १२२ वर्षअघि शुरु भएको कन्यापूजा यो बर्ष पनि निरन्तर भयो । कारोना संक्रमणका कारण २०७७ र २०७८ मा रोकिएको कन्यापूजा २०७९ देखि पुन सञ्चालन भएको थियो ।

छोरीलाई अझै पनि ‘हेय’को दृष्टिकोणबाट हेर्ने नेपाली समाजलाई उदाहरण स्वरुप काभ्रेका विभिन्न स्थानमा छोरीलाई देवीको रुपमा पुज्ने चलन छ । यसरी पुज्दा जातको पनि कुनै भेदभाव छैन । सबै जात, धर्म र समुदायका अन्दाजी १० हजार कन्या पुजिने गरेका छन् । रजस्वला नभएका बालिकाहरुलाई कन्याको रुपमा पुज्ने गरिन्छ । यसरी पुजा गर्दा कन्याहरु निरोगी हुने, सुखसम्पत्ति पाई खुशी हुने र कन्याहरुलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहेको सनातन कन्या पूजा प्रवन्ध समितिका कोषाध्यक्ष दिनेशराज कायस्थले जानकारी दिए ।

वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पुजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व हो । कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास समेत छ । कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा कर्म सार्थक हुने जनविश्वास छ ।

भोलाखाँ टोलबाट तिनधारा तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन् । सनातन कन्या पुजा प्रवन्ध समिति तथा व्यक्तिगत गरि देशभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दिइने गरिन्छ । कन्या पूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजारौ दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरु आउने गरेको कायस्थले जानकारी दिए । भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरू हुन्छ ।

सोमबार बनेपामा भएको कन्या पूजामा कलाकारहरु किरण के.सी., आँचल शर्मा, विजय लामा, बिवेक कर्माचार्य, रबीन्द्र खड़का, कुसुम शर्मालगायत सहभागी भएर कापी, बिस्कुटलगायत सामग्री वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस