दाप्चाका विशेष जात्रा सकियो, कृष्ण जन्मेको खुशीयालीमा तीन वस्तीमा रथयात्रा

नौलो समाचार संवाददाता
२०८१ भाद्र ११, मंगलबार मा प्रकाशित ५५ पटक पढिएको
दाप्चाका विशेष जात्रा सकियो, कृष्ण जन्मेको खुशीयालीमा तीन वस्तीमा रथयात्रा

दाप्चा /  नमोबुद्ध नगरपालिका वडा नं ८ र ९ का तीन नेवारी वस्तीमा लाग्ने विशेष जात्रा सकिएको छ ।

पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको हो । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा सकिएको छ ।

तल्लो हटियामा १६६४ सालदेखि र माख्लो हटियामा १९६० र कोट हटियामा २००० सालदेखि जात्रा शुरु हुँदै आएको शिलालेखहरुमा उल्लेख छ । नवदुर्गा सहित गणेश, महादेव, पार्वती, विष्णु, लक्ष्मी, वाराही, देवी, भैरव, महाकालीका साथै राजारानी नाच, कुकुर नाच, हंशभारत नाच, लाखे नाच हुन्छ । सुम्व निसुम्व, महिशासुर, चण्डमुण्ड लगायतका राक्षसले देवताहरुलाई दुख दिएपछि देवीको शरणमा पर्दा देवीले उनीहरुको बध गरेको खुशीयालीमा यो जात्रा देखाउने गरिएको छ । जात्रा गर्दा घरपरिवार र शरिरमा भएको कुनै पनि समस्या भए नाश हुने धार्मिक मान्यता छ ।

पञ्चमीको दिनमा भिमसेन र हिले जात्रा, षष्ठीको दिनमा देवी भैरव नाँच, सप्तमीको दिनमा भोजको लागि तयारी गरिन्छ । कृष्णाजन्माष्टमीको दिनभर ब्रत बसेर कृष्ण मन्दिरमा पुजा गर्ने, नाँचगान गर्ने र रातभर जाग्राम बस्ने गरिन्छ । नवमीको दिनमा कृष्ण जन्मेको खुशीयालीमा रथजात्रा गरेपछि जात्रा सकिन्छ । तल्लो हटियामा विहान र माख्लो हटियामा दिउँसो रथजात्रा निकाल्ने गरिन्छ । विभिन्न स्थानमा गएका परिवारका सदस्य र आफन्त समेत जात्रामा आउने गरेका छन् ।

पढाइ, व्यापार, रोजगारीका लागि स्थानीयहरु काठमाडौं, बनेपा, धुलिखेल लगायतका शहरमा बसोवास गर्न थालेकोले जात्राको निरन्तरताबारे चिन्ता हुन थालेपनि स्थानीय युवाहरु यसको संरक्षणमा लागेका जुटेका छन् । केही युवाहरु परम्परागत नृत्य सिकेर यसलाई पछिल्लो पुस्तासम्म विस्तार गर्ने क्रममा भएपनि युवाहरुको कमिको कारण पहिलाको जस्तो रौनकता छैन ।

काठमाण्डौँबाट नजिक रहेको दाप्चामा प्रशस्त पर्यटकीय सम्भावना छन् । पुरानो ऐतिहासिक सम्पदाले भरिपुर्ण दाप्चामा विभिन्न कलात्मक घर, मठमन्दिर समेत छन् । पर्यटकीय क्षेत्र नमोबुद्ध हुँदै पुगिने दाप्चालाई पर्यटकीय क्षेत्र बनाउन कोटकालिका एकिकृत विकास तथा मन्दिर सरक्षण समिति समेत गठन भएको छ । यहाँका युवाले पनि यस क्षेत्रको पर्यटकीय विकासको लागि योजना बनाइरहेको समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिए ।

चार सय १७ बर्ष पुरानो जात्रालाई दाप्चाका स्थानीयले प्रत्येक घरधुरीबाट पैसा उठाएर निरन्तरता दिइरहेका छन् । श्रीकृष्णजन्माष्टमी नवदुर्गा जात्रा समिति, तल्लोहटियाका अध्यक्ष शिव श्रेष्ठ गुठियारबाट उठाएको पैसाले जात्रा चलाउन कठिन भएकोले सहयोगको अपेक्षा गर्छन् ।

पर्यटन विकास समितिका अध्यक्ष श्रेष्ठले संस्कृतिक संरक्षण र प्रवद्र्धनको लागि स्थानीय, प्रदेश र संघ सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस