दोलालघाटमा अखाद्य रंंग प्रयोग गरी तयार गरिएका माछा लगायतका परिकार नष्ट, बेकरी उद्योगलाई उत्पादन रोक्न निर्देशन

नौलो समाचार संवाददाता
२०८१ भाद्र १३, बिहिबार मा प्रकाशित २१६ पटक पढिएको
दोलालघाटमा अखाद्य रंंग प्रयोग गरी तयार गरिएका माछा लगायतका परिकार नष्ट, बेकरी उद्योगलाई उत्पादन रोक्न निर्देशन

दोलालघाट / भुम्लु गाउँपालिकाको मुख्य बजार क्षेत्र दोलालघाटमा अखाद्य रंग प्रयोग गरी तयार गरिएका माछा लगायतका परिकार नष्ट गरिएको छ ।

जिल्ला  बजार अनुगमन समितिले बिहिबार अनुगमनको क्रममा त्यहाँ पसल टहरामा उपभोेक्तालाई विक्रीका लागि राखिएका ती तयारी परिकार जफत गरी कार्यालय परिसरमा नष्ट गरिएको समितिका सदस्य सचिव समेत रहेका उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार, अखाद्य रंग प्रयोग गरिएको तयारी माछा अन्दाजी २० केजी, पकौडा, जेरी लगायतका सामाग्री जफत गरिएको छ । अनुगमन टोलीले दोलालघाटमा सञ्चालित फिस हाउस रेष्टुरेन्ट एण्ड गेष्ट हाउसलाई विल/विजक जारी नगरेको कसुरमा ५ हजार जरिवाना समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत दिपेश उप्रेती, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख खाद्य अनुसन्धान अधिकृत मनिषा चापागाई, जिल्ला समन्वय समिति काभ्रेका अधिकृत भरत सापकोटा, समितिका सदस्य सचिव समेत रहेका उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओली, रविन्द्र चौगालाई, पुण्यवती श्रेष्ठ, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति, सञ्चारकर्मी, प्रहरी चौकी दोलालघाटका इञ्चार्ज प्रहरी नायव निरिक्षक सुवास थोकरसहितको टोलीले दोलालघाट र आसपासका ३४ वटा होटल, पसलमा अनुगमन गरेको थियो ।

अधिकाशं होटलमा अखाद्य रंग, खुल्ला भान्छा र सडक छेउमा नै असुरक्षित तरिकाले राख्ने गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख खाद्य अनुसन्धान अधिकृत मनिषा चापागाईले बताइन् ।

अनुगमन टोलीले खाद्य अनुमति पत्र नलिई पाँचखाल नगरपालिका वडा नं ३ मा सञ्चालनमा रहेको लक्ष्मीनारायण वेकरी उद्योगलाई तत्काल उत्पादन रोक्न निर्देशन दिएको छ ।

अनुमतिको लागि प्रकृयामा रहेको देखाउँदै उद्योगले विगत ४ बर्षदेखि विना लेवल आफ्ना उत्पादन बजारमा पठाउँदै आएको छ । अघिल्लो अनुगमनमा पनि सोही कैफियत भेटिएपछि खाद्यले उत्पादन बन्द गर्न निर्देशन दिएपनि उद्योगले अवज्ञा गर्दै आएको पाइएको हो ।

१५ दिनभित्र सरसफाईमा सुधार गर्ने, मापदण्ड पुरा गरी अनुमति लिएर मात्रै उत्पादन गर्ने प्रतिवद्धता सञ्चालक श्यामकृष्ण श्रेष्ठले गरेका छन् ।

चालु आर्थिक बर्षको यो पहिलो बजार अनुगमन भएको र जिल्ला संयुक्त बजार अनुगमन समितिको निर्णय अनुसार महिनाको दुई पटक बजार अनुगमन गरिने उद्योग वाणिज्य कार्यालय प्रमुख ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस