मानव जातिलाई सकरात्मक सन्देश फैलाउन सफल हुनुहोस् : प्रधानमन्त्री

एसइइको नतिजा सुधार्न लागेका छौं
नौलो समाचार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार मा प्रकाशित ३८ पटक पढिएको
मानव जातिलाई सकरात्मक सन्देश फैलाउन सफल हुनुहोस् : प्रधानमन्त्री

धुलिखेल / प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिलाई सकरात्मक सन्देश फैलाउन सफल हुन दीक्षितहरुलाई अनुरोध गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै विधामा भएपनि दक्ष भएर आफ्नो सुकृति फैलाउने गरी काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजा सुधार्न गर्न आफूले कदम चाल्ने बताए  । ‘५२ प्रतिशत भन्दा बढी विधार्थी एसइइमा उर्तीण हुन नसक्नु सहन सकिने कुरा हैन, यो कुरामा मान्य हुँदैन,’ उनले भने, ‘ कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी अग्रेंजी, गणित, विज्ञान, अतिरिक्त गणित, सामाजिक लगायत विषयका विशेष, अनलाइन कक्षा सञ्चालन गर्ने प्रवन्ध गर्छौ, अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने एसइइ र कक्षा १२ को नतिजा सुधार्छौ ।’


राम्रा संरचना, उपकरण, शैक्षिक सामाग्री दिन नसकेपनि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको भन्दै शैक्षिक नतिजा सुधार्न सरकार लागिपरेको बताए ।

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालका विच केही समस्या देखिएको भन्दै उनले त्यसको समाधान हुने भन्दै चिन्ता नगर्न आश्वस्त पारे ।

समारोहमा प्रमुख अतिथी रहेका वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले पाश्चात्य शिक्षा हाम्रो आवश्यकता र बाध्यता भएकाले त्यसलाई नकार्न नसक्ने भन्दै हाम्रो प्राच्य शिक्षापद्वति र ज्ञानको उच्च आदर्शलाई बिर्सन नहुने तर्क गरे । उनले प्राच्य ज्ञान र शिक्षाको विशिष्ट अध्ययन र अभिलेखीकरणमा समर्पित एउटा अध्ययन, अनुसन्धान र प्रकाशनगृहको स्थापनामा पनि विश्वविद्यालयले अगुवाइ लिनुपर्ने बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले दीक्षितहरुलाई आफ्नो विद्वत्ता, शिक्षकहरूको प्रेरणा, अभिभावकहरूको अपेक्षा, विश्वविद्यालयको गरिमा अनि राष्ट्रनिर्माणको दायित्वलाई सदा उच्च महत्वका साथ अनुशरण गर्ने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, विभिन्न संकायका डीनहरुले दीक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस