काभ्रेमा डेंगु संक्रमण ‘उकालो’ लाग्यो, रोकथामको लागि ‘खोज र नष्ट गर’ अभियान गरिँदै

नौलो समाचार संवाददाता
२०८१ भाद्र १५, शनिबार मा प्रकाशित ८३ पटक पढिएको
काभ्रेमा डेंगु संक्रमण ‘उकालो’ लाग्यो, रोकथामको लागि ‘खोज र नष्ट गर’ अभियान गरिँदै

धुलिखेल / काभ्रेमा डेंगु संक्रमण ‘बढ्दै’ गएको छ ।

भदौ १४ गते शुक्रवार एकै दिन ६ जनामा डेंगु संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार, डेंगु संक्रमितको संख्या ५७ पुगेको छ । ती मध्ये ३० महिला र २६ पुरुष छन् । बनेपा, पनौती, धुलिखेल क्षेत्रमा बढी संक्रमित भएका छन् ।

जनस्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत सिर्जना अधिकारीका अनुसार, बनेपा र पनौती नगरपालिकामा १३/१३ जना, धुलिखेलमा १२ जना, भुम्लु गाउँपालिकामा ८ जना, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा ३/३ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिमा २/२जना र तेमाल गाउँपालिमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

ल्याव टेक्निसियन निरिक्षक सिता श्रेष्ठका अनुसार,  बढी डेंगु संक्रमण भएका देशभरका प्रमुख १० जिल्ला मध्ये बाग्मती प्रदेशका ५ जिल्ला काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक रहेकाले पनि काभ्रे बढी जोखिममा छ ।

कक्षपतिका अनुसार, भदौ महिना डेंगु संक्रमण बढी हुन सक्ने महिना हो । उनले संक्रमण नियन्त्रणको प्रत्येक शुक्रवार १० बजे १० मिनेट अभियान सञ्चालन गरिएको बताइन् । संक्रमण गराउने लामखुट्टे बस्न सक्ने सम्भावित स्थान खोज्ने र नष्ट गर्ने विधी नै ९० प्रतिशत प्रभावकारी भएको पाइएकोले सोही अनुसार अभियान गरिएको उनले जानकारी दिइन् ।

काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४ सय ८७ जना, २०७९/८० मा ६ सय ८२ जना, २०८०/८१ मा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टी भएको थियो ।

डेंगु संक्रमण परिक्षणको लागि पर्याप्त मात्रामा किट नभएकोले ज्वरोको लक्षण भएका कतिपय अवस्थामा पर्याप्त मात्रामा परिक्षण गर्न नसकिएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस