पाँचौ संस्करणको बनेपा महोत्सव असोज ४ गतेदेखि

नौलो समाचार संवाददाता
२०८१ भाद्र १९, बुधबार मा प्रकाशित ३२६ पटक पढिएको
पाँचौ संस्करणको बनेपा महोत्सव असोज ४ गतेदेखि

बनेपा/ बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा हुँदै आएको बनेपा महोत्सवको पाचौं संस्करण असोज ४ गतेदेखि शुरु हुने भएको छ ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा हुने ‘व्यापारिक, सास्कृतिक, मनोरञ्जनात्मक खेल मेला ः बनेपा महोत्सव–२०८१’ असोज १९ गतेसम्म चल्नेछ ।

जिल्लाको ‘सुन्दर नगरी’ बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांंस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको क्लवका अध्यक्ष महेशकुमार कर्माचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । फुटबल लगायतको विकासमा कृयाशिल क्लवले खेलकुद गतिविधी सञ्चालन गर्न आर्थिक जोहो गर्न मेला, महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा रहेका सिमित स्टलमा सबै प्रकारका सामान नपाइन सक्ने भन्दै महोत्सवमा आउने दर्शकका कारण बनेपा, पनौती, धुलिखेल लगायतका क्षेत्रमा चाडपर्वको व्यापार बढ्ने दाबी गरे ।

कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहने महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बाल उद्यानको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमका साथै जिल्ला भित्रका नवप्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिइने मुख्य संयोजक पारषमणि कायस्थले जानकारी दिए ।

महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा प्रतियोगिता समेत गर्ने आयोजकको तयारी छ ।

असोज ४ गते स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको समुद्घाटन हुनेछ ।

टिम बिबिसी संरक्षक रहेको मेला संयुक्त नेपाल मेला महोत्सव गु्रपले व्यवस्थापन गर्नेछ । महोत्सवको प्रमुख सल्लाहकार राम राज जोशी, मुख्य संयोजकमा पारस मणि कायस्थ र सह–मूख्य संयोजकमा यश कुमार रंजितकार तोकिएका छन् ।

फुटवल खेल विकास र प्रवद्र्धनमा सकृय बनेपा व्वाइज क्लवले विभिन्न समयमा सामाजिक कृयाकलाप गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस