धुलिखेलमा तयार भयो वी.पी. को प्रतिमा, कांग्रेस सभापति देउवाले असोज ५ मा अनावरण गर्ने

नौलो समाचार संवाददाता
२०८१ भाद्र २१, शुक्रबार मा प्रकाशित ३२६ पटक पढिएको
धुलिखेलमा तयार भयो वी.पी. को प्रतिमा, कांग्रेस सभापति देउवाले असोज ५ मा अनावरण गर्ने

धुलिखेल  /  धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पताल चोकमा महामानव वी.पी. कोइरालाको प्रतिमा तयार गरिएको छ ।

२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको प्रतिमा निर्माण ९ बर्षपछि अनावरण गर्न लागिएको हो । जरणडाँडामा तयार गरिएको प्रतिमा असोज ५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गर्नेछन् ।

प्रतिमा स्थापनाको लागि ‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समिति’ गठन गरी काम अघि बढाइएको संयोजक समेत रहेका कांग्रेस जिल्ला सदस्य जितकृष्ण श्रेष्ठले जानकारी दिए । १२ औं र १३ औं महाधिवेशनमा नगर सभापति निर्वाचित भएका श्रेष्ठको संयोजकत्वमा काम बढेपनि आर्थिक श्रोत जुट्न नसक्दा पुरा भएको थिएन ।

१४ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो ।

ढलौटबाट बनेको प्रतिमाको लागत १५ लाख रुपैयाँ छ । पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकबाट संकलन गरी निर्माण गरिने श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेस धुलिखेल नगर समितिको संयोजन र निर्माण समितिको आयोजनामा हुने कार्यक्रमको तयारी थालिएको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा समेतको उपस्थितीमा बैठक बसेर व्यवस्थापकीय तयारी गरिएको हो । बैठकले विभिन्न जिम्मेवारी तोकेर तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस