पनौती नगरपालिका यसरी भयो ‘बालश्रममुक्त’

नौलो समाचार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार मा प्रकाशित ३२६ पटक पढिएको
पनौती नगरपालिका यसरी भयो ‘बालश्रममुक्त’

पनौती /  बालश्रममुक्त नगरपालिका घोषित हुन पनौतीले बालश्रमिक र बालश्रमको जोखिममा रहेका ३३ बालबालिकालाई ‘प्रत्यक्ष व्यवस्थापन’ गरेको छ ।

भदौ २९ गते शनिवार एक कार्यक्रमविच पनौती ‘बालश्रममुक्त नगरपालिका’ घोषित हुँदैछ । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रविच घोषणा गर्ने कार्यक्रम छ ।

३९ सूचक पुरा गरेर बालमैत्री स्थानीय तह घोषणा भएको पनौतीले यसको दिगोपनाको लागि समेत बालश्रममुक्त नगरपालिकाको लागि अभियान चलाएको थियो ।

नगरपालिकाका १२ वटै वडाहरुमा चेक लिष्ट सहित अनुगमन गरी नगर बालश्रम समन्वय समिति र कार्यपालिकाबाट बालश्रममुक्त वडा घोषणाका लागि अनुमती प्रदान गर्दै सबै वडा बालश्रममुक्त घोषणा समेत गरिसकिएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

नगरपालिकाको बालमैत्री शाखा प्रमुख केशव वञ्जाराका अनुसार, वडा नं १ मा १ जना बालश्रमिक भेटिएकोमा उनलाई अभिभावकको जिम्मा लगाइ विद्यालय पठाइएको छ । वडा नं ४ मा २ जना बालकहरु घर फिर्ता गएको, १ जना बालक अभिभावक संगै रहेको र बिद्यालय जाने गरेको साथै श्रममा रहेको १६ बर्ष माथीको १ जना बालिका लाई बालगृहमा पुनस्र्थापना गरिएको छ । वडा नं ५ मा विद्यालय छोडेका ९ जना बालबालिकालाई श्वेत गणेश आधारभूत विद्यालयमा भर्ना गरी वडा कार्यालय बाट कपी, कलम लगायत स्टेशनरी सामाग्री व्यवस्था गरिएको छ ।

वडा नं. ६ मा अनुगमनको क्रममा भेटिएका खानीखोला र बेथानचोक घर भएका २ जना बालश्रमिकलाई अभिभावकको जिम्मा लगाइएको, वडा नं ७ मा श्रममा रहेका जना ३ जना बालबालिकाहरु लाई घर परिवारमा फिर्ता पठाईएको र वडा नं ८ मा १ जना बालकलाई आफन्तको जिम्मा लगाइ घर फिर्ता गरिको छ ।  वडा नं १२ मा १ जना श्रममा रहेको बालिका लाई बालगृहमा पठाई पुनस्र्थापना गरिएको छ भने १७ बर्ष उमेर पुरा भएका २ जना बालबालिकालाई घर फिर्ता ल्याएर सिपमुलक तालिम प्रदान गर्ने तयारी गरिएको वञ्जाराले जानकारी दिए ।

विद्यालय नगएर बालश्रमको जोखिममा रहेका ११ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । बालश्रमममा संलग्न हुन सक्ने बालबालिका र तीन परिवार समेतलाई शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत सञ्चालन भइरहेका सिपमुलक तथा आयआर्जनमूलक तालिममा सहभागी गराइएको उनले जानकारी दिए ।

पनौती नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधी २०८० तयार गरी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ ।

वञ्जाराका अनुसार, बालश्रम निवारणका लागि उद्योगी, व्यापारी लगायतका विभिन्न सरोकारावालासंग छलफल गरिएको छ । वडा स्तरमा बाल अधिकार समिति, बालश्रम अनुगमन समिति लगायतका समितिहरु गठन गरी परिचालन गर्नुका साथै बालश्रममुक्तको दिगोपनाको लागि अन्तरक्रिया गरिएको छ । नगरपालिका स्तरमा बालश्रम निवारण कोष समेत व्यवस्था गरिएको छ ।

बालश्रम विरुद्धको चेतना अभिवृद्धी तथा प्रचारप्रसारको लागि सबै वडामा व्यवसाय तथा घरपरिवार स्तरमा ‘१ घर १ मिनेट जनप्रतिनिधी’ अभियान समेत सञ्चालन गरिएको थियो । यसका अलावा सबै घर तथा व्यवसायहरुमा बालश्रम प्रयोग नगर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराइएको वञ्जाराले जानकारी दिए ।

नगर उपप्रमुख गिता वञ्जाराले बालश्रममुक्त घोषणा भएपछि पनि यसको दिगोपनाको लागि काम गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस