पनौती नगरपालिका ‘बालश्रममुक्त’ घोषित

नौलो समाचार संवाददाता
२०८१ भाद्र २९, शनिबार मा प्रकाशित १५२ पटक पढिएको
पनौती नगरपालिका ‘बालश्रममुक्त’ घोषित

पनौती / पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषित भएको छ ।

३९ सूचक पुरा गरेर बालमैत्री स्थानीय तह घोषणा भएको पनौतीले यसको दिगोपनाको लागि समेत बालश्रममुक्त नगरपालिका घोषणा भएको हो ।

विभिन्न मितिमा १२ वटै वडा बालश्रममुक्त घोषणा भएपछि भदौ २९ गते शनिवार एक कार्यक्रमविच पनौती ‘बालश्रममुक्त नगरपालिका’ घोषणा गरिएको हो ।

 

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले ‘बालश्रममुक्त नगरपालिका’ भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरे ।

मुख्यमन्त्री लामासहित बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे, तिर्थ लामा, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका सबै वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायत कर्मचारी, सरोकारवाला लगायतले त्यसको दिगोपनाको लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बालश्रममुक्त घोषणा गर्न योजदान पुर्याउने विभिन्न सस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

बालश्रममुक्त घोषणा गर्नको लागि बालश्रममा रहेका र जोखिममा रहेका बालबालिकाको ‘व्यवस्थापन’ गरिएको नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिए । भण्डारीले घोषणा गरेर यसको निरन्तरतामा ध्यान दिन सकिएन भने यसको वास्तविक अर्थ नहुने भन्दै यसको दिगोपनाको लागि काम गर्ने प्रतिवद्धता जनाए ।

नगरपालिकाको बालमैत्री शाखा प्रमुख केशव वञ्जाराका अनुसार, बालश्रममा रहेका ४ बालबालिकालाई अभिभावकको जिम्मा लगाएको, अन्यत्रका ४ जनालाई घर फिर्ता गरिएको, २ जनालाई बालगृहमा पुनस्र्थापना गर्नुका साथै बालश्रममा रहेका ९ जनालाई स्थानीय विद्यालयमा भर्ना गरिएको छ । विद्यालय जान छोडेर बालश्रमको जोखिममा रहेका ११ बालबालिकालाई पनि विद्यालय भर्ना गरिएको उनले जानकारी दिए । पनौतीले बालश्रमममा संलग्न हुन सक्ने बालबालिका र तीनका परिवार समेतलाई शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत सञ्चालन भइरहेका सिपमुलक तथा आयआर्जनमूलक तालिममा सहभागी गराएको छ ।

नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधी २०८० तयार गरी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधी सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस