प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउछौं : मुख्यमन्त्री लामा

नौलो समाचार संवाददाता
२०८१ भाद्र २९, शनिबार मा प्रकाशित १५० पटक पढिएको
प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउछौं  : मुख्यमन्त्री लामा

पनौति/ बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले हातेमालो गर्ने बताएका छन् ।

पनौती नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेशभरका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउने बताए ।

`बालअधिकार सुनिश्चितताको लागि बालश्रममुक्त घोषणा गर्नु महत्त्वपूर्ण कदम हो, यसका लागि म पनौती नगरपालिकाका प्रमुख लगायत सबैलाई बधाई र धन्यवाद व्यक्त गर्छु,´ उनले भने, `बागमति प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउनेछौ ।´

पनौती नगरपालिकाले अत्यन्त न्यून बेरुजु कायम गराएको भन्दै शुन्य बेरुजु कायम गर्न अनुरोध गरे । उनले अलपत्र बनेको पनौती-खोपासी सडकलाई बहुबर्षिय बनाएर यो पटक बजेट बिनियोजन गरेर सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

पुर्व उद्योग राज्यमन्त्री रहेका बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादेले  बालश्रममुक्त राम्रो सामाजिक अभियान भएको भन्दै त्यसको दिगोपनाको लागि आफ्नो पनि प्रतिवद्धता रहेको बताए ।

बाग्मती प्रदेशका पुर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तिर्थ लामाले बालश्रममुक्त हुनु सुखद सामाजिक कार्य भएको भन्दै आफ्नो निर्वाचन क्षेत्र भरलाई बालश्रममुक्त बनाउन पहल गर्ने बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)का राष्ट्रिय निर्देशक नुमान ओजकानले नगरपालिकाले प्रतिवद्धता गरेको १ बर्षमा बालश्रममुक्त घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्दै यसको दिगोपनाको लागि प्रदेश सरकार लगायतका सबै सरोकारवालाको सहयोगको अपेक्षा गरे ।

नगर प्रमुख रामशरण भण्डारीले घोषणा गरेर यसको निरन्तरतामा ध्यान दिन सकिएन भने यसको वास्तविक अर्थ नहुने भन्दै यसको दिगोपनाको लागि काम गर्ने प्रतिवद्धता जनाए ।

पनौती नगर उपप्रमुख गिता वन्जाराले सबैको सहयोगबाट घोषणा गर्न सम्भव भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

पनौती नगर बाल समुह सन्जालका पुर्व अध्यक्ष दिक्षित न्यौपानेले घोषणा पछि पनि बालश्रमिक भेट्न सकिने भन्दै क्रमश निवारण गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस