कृषि अनुदान दुरुपयोग रोक्न स्थानीय तहलाई जिम्मेवार बनाइने : मन्त्री श्रेष्ठ

कृषि, पशु सेवा र बागवानीका कार्यक्रमबारे सरोकारवालालाई जानकारी
नौलो समाचार संवाददाता
२०८१ भाद्र ३१, सोमबार मा प्रकाशित ११४ पटक पढिएको
कृषि अनुदान दुरुपयोग रोक्न स्थानीय तहलाई जिम्मेवार बनाइने : मन्त्री श्रेष्ठ

धुलिखेल / बाग्मती प्रदेश सरकार अन्तर्गतका ३ कार्यालयले आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम र त्यसको बजेटबारे सरोकारवालाई जानकारी गराएको छ ।

सोमबार धुलिखेलमा आयोजित कार्यक्रममा कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रले आर्थिक बर्ष २०८०/८१मा सञ्चालन गरेका कार्यक्रमको समिक्षाका साथै आर्थिक बर्ष २०८१/८२ का बार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले चालु आर्थिक बर्षमा ८ करोड ८१ लाख बराबरको कृषि प्रवद्र्धन र विकासका साथै प्रविधी प्रसार र समन्वयनका काम गरिने बताए । संघीय सशर्तका साथै साझेदार निकायका विभिन्न कार्यक्रम पनि सञ्चालन हुने उनले जानकारी दिए ।

पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. निशान्त शर्मा गेलालले चालु आर्थिक बर्षको लागि ७ करोड ३६ लाख कुल बजेट रहेको जानकारी दिए ।

बागवानी विकास केन्द्र, पाँचखालका प्रमुख विष्णु बोगटीले आर्थिक बर्ष २०८०/८१ मा भएका कामको समिक्षा गर्दै चालु आर्थिक बर्षमा गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले कृषि अनुदान दुरुपयोग रोक्नको लागि स्थानीय तहका उपप्रमुख र वडाअध्यक्षलाई अनुगमनको अधिकार दिने गरी कार्यविधी संशोधन गर्न लागिएको जानकारी दिए । प्रदेश सरकारले सबै स्थानीय तहमा हाटबजार सञ्चालन गर्ने नीति लिएको उनले जानकारी दिए ।

संविधानमा भएका साझा अधिकारका केही बिषयमा केही समस्या भएको भन्दै उनले स्थानीय तहसंग समन्वय गरेर कृषिका नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाए ।

१० करोड माथिका बहुबर्षीय योजना सञ्चालन गर्न लागिएको भन्दै त्यसका लागि प्रस्ताव पेश गर्न स्थानीय तहलाई अनुरोध गरे । रैथाने बालीको संरक्षण र प्रवद्र्धनको लागि सरकारले कार्यक्रम ल्याउन लागेको भन्दै उनले विषादी खपत कम गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषिबाट मात्रै समृद्धी सम्भव छैन भन्ने बहस हुन थालेको भन्दै कृषिका नीति, कार्यक्रम र बजेट पुनर्विचार गर्नुपर्ने बताए ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले पशुमा रोगको प्रकोप बढेको भन्दै कृषकको हितको लागि निशुल्क पशु विमा गरेको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले भुगोल सुहाउँदो योजना बनाउनुपर्ने तर्क गरे ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले प्रदेश सरकार अन्तर्गतका संरचनाले कृषि, पशु विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम, अनुगमन गर्नुपर्ने भन्दै अनुदान वितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताए ।

पनौती नगरपालिका उपप्रमुख गिता वञ्जारा र पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले विषादी पसलहरुको अनुगमन गर्दा स्थानीय तहसंग समन्वय नगरेको भन्दै गुनसो गरे ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले आफनो कार्यक्रम र बजेट सार्वजनिक गरेर कार्यालयले सुशासन र पारदर्शीतामा जोड दिएको बताए ।

बेथानचोक वडा नं २ का कृषक गोपालप्रसाद तिमल्सिनाले रैथाने बाली संरक्षणको लागि विज्ञापन र गफ बढी भएपनि कार्यक्रम र बजेट नभएको बताए ।

पनौती वडा नं ३ मा आलु विउ उत्पादन गरिरहेका कृषक राजेन्द्र थापाले विउ उत्पादनको लागि अत्यावश्यक एमोनियम नाइट्रेट भित्राउन सरकारले रोक लगाएको भन्दै त्यसको लागि निश्चित कोटा तोकिनुपर्ने बताए ।

मण्डनदेउपुर वडा नं ७ का कृषक गोविन्दप्रसाद नेपालले गोठ सुधार कार्यक्रमका कारण रसायनिक मलको प्रयोग नै नगरेका दाबी गर्दै पक्की गोठको लागि संरचनाका लागि अनुदान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस