विभिन्न १२ विधाका उत्कृष्ट युवालाई सम्मान

नौलो समाचार संवाददाता
२०८१ आश्विन ३, बिहिबार मा प्रकाशित ७२ पटक पढिएको
विभिन्न १२ विधाका उत्कृष्ट युवालाई सम्मान

बनेपा / एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले विभिन्न १२ विधाका उत्कृष्ट  युवालाई सम्मान गरेको छ ।

युवा संघले १२ विधामा आफ्नो पेशा व्यवसायसहित विवरण भर्न डिजिटल माध्यम सम्मानको लागि खुल्ला आव्हान गरेको हो । आवेदन भरेका १०० मध्येबाट वरिष्ठ अधिवक्ता केदार कोइराला संयोजकत्वको टोलीले उत्कृष्ट १२ छनोट गरेको युवा संघका अध्यक्ष इश्वर वल्लभ सापकोटाले जानकारी दिए ।

पत्रकारिता विधामा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, खेलकुद विधमा भुम्लु गाउँपालिका वडा नं १० का प्रिजन तामाङ, स्वास्थ्य विधामा बनेपा वडा नं १० का डा. अशोक थापा, शिक्षा क्षेत्रबाट मण्डन देउपुर नगरपालिकाका निरन्जन सापकोटा, कृषि उद्यमी तथा पशुपंक्षी क्षेत्रबाट भुम्लु गाउँपालिका वडा नं २ का प्रविन महत, वन तथा वातावरण विधाबाट धुलिखेल वडा नं २ का ईश्वर बञ्जारा, निजामती कर्मचारीको क्षेत्रबाट रोशी गाउँपालिका वडा नं ९ का प्रेरणा क्याप्छ्याकी मगर, बैक तथा वित्तिय क्षेत्रबाट पाँचखालका संगम अधिकारी, विशिष्ठ क्षमता भएकाहरुबाट महेश्वर थापा, कला, साहित्य विद्याबाट कमलाकुमारी जोशी, युवा उद्यम क्षेत्रबाट नमोबुद्ध वडा नं १ का श्रीकृष्ण धिताल र विज्ञान तथा प्रविधी क्षेत्रबाट पनौती वडा नं १ का सुरेश सापकोटा सम्मानित एका छन् ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री रहेका प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटा, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, वरिष्ठ अधिवक्ता केदार कोईराला, राष्ट्रिय युवा संघका अध्यक्ष इश्वरबल्लभ सापकोटा लगायतले सम्मान गरेका थिए ।

पोलिट्व्युरो सदस्य बास्कोटाले संविधान परिवर्तनशिल र गतिशिल राजनीतिक दस्तावेज भएकाले आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस