दशैं अगावै कामको भुक्तानी दिन सरकारलाई निर्माण व्यवसायीको ध्यानाकर्षण

नौलो समाचार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ११३ पटक पढिएको
दशैं अगावै कामको भुक्तानी दिन सरकारलाई निर्माण व्यवसायीको ध्यानाकर्षण

बनेपा / नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले दशैं अगावै निर्माण व्यवसायीको कामको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्माण व्यवसायी संघ काभ्रेको १४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले भुक्तानी गरेर समयमा नै काम गर्ने वातावरण बनाउन अनुरोध गरे । निर्माण व्यवसायी संग विभिन्न सम्झौता गरेको सरकारले आफ्नो दायित्व पूरा नगरेको तर्क गर्दै उनले समस्या समाधान गर्न प्रतिव्द्ध्ता जनाएको २ महिना सम्म पनि पूरा नभएको गुनासो गरे ।

अव्यवहारिक कानुन, अदुरदर्शी राजनितिक नेतृत्व र असहयोगि कर्मचारीतन्त्रका कारण समयमा नै निर्माणका काम गर्न नसकिएको तर्क गर्दै उनले कार्यतालिका सहित म्याद थपको लागि अनुरोध गरे । उनले समयमा सम्पन्न हुन नसकेका रुग्ण योजना अध्ययनको लागि कार्यदल गठन गर्न सरकारलाई अनुरोध गरे ।

बाग्मती प्रदेशका पुर्वमन्त्री चन्द्र लामाले व्यवसायिक हकहित संगै आफ्ना कर्तव्य पनि पूरा गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले निर्माण व्यवसायीलाई भुक्तानी दिन भएको समस्या समाधान गर्दै समयमा नै काम सप्पन्न हुने वातावरण बनाउनुपर्ने बताए । उपभोक्ता समितिमार्फत आफ्ना मान्छेलाई काम दिने कार्यले स्थानीय तहमा भ्रष्टीकरण मौलाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने बताए । निर्माण व्यवसायी र गलत डिजाइनका कारण धुलिखेल-खावा सडक बन्न नसकेको भन्दै उनले काम गर्ने वातावरण बन्नुपर्ने तर्क गरे ।

नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले अमुक निर्माण व्यवसायीलाई आरोप लगाएर यो क्षेत्रको समस्या समाधान नहुने भन्दै सरकारले समाधानको पहलकदमी लिनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका गुणनिधि (जि. एन) सापकोटाले अस्पष्ट खरिद ऎनका कारण निर्माण क्षेत्रमा समस्या भएको बताए ।

नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामाले उपभोक्ता समितिमार्फत काम गर्दा समस्या आउन सक्ने भन्दै जनप्रतिनिधि सधै त्रासमा रहनुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकर, नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष ए. डि लामा, उपाध्यक्ष रामजि पन्त, बालकृष्ण थापा, महासचिव रोशनकुमार दाहाल, उपमहासचिव शिवहरि घिमिरे, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, केन्द्रीय सदस्य होम शर्मा आचार्य, विष्णु लामिछाने, उपेन्द्रकुमार घिसिङ, पुर्व केन्द्रीय सदस्य मंगल बहादुर शाही, बाग्मती प्रदेश अध्यक्ष छत्रबहादुर लामा, निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कडेल, काभ्रे उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, काभ्रे हेभी इक्विप्मेन्ट व्यवसायी सङ्घका अध्यक्ष प्रभुराम श्रेष्ठ, निर्माण व्यवसायी सङ्घ काभ्रेका प्रथम उपाध्यक्ष दमन दोङ लगायतले निर्माण व्यवसायीका चुनौतीबारे चर्चा गरे ।

निर्माण व्यवसायी सङ्घ काभ्रेका अध्यक्ष विजय लामाले स्थानीय तहले निर्माण व्यवसायलाई बढी कर लिएको भन्दै उपभोक्ता समितिमार्फत निर्माण कार्य गर्दा व्यवसायी मर्कामा परेको बताए । आर्थिक मन्दी लगायतका कारणले निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसकेको भन्दै व्यवसायीका समस्याबारे कसैले नबोल्दिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस