‘चारतारे झण्डा’ ले सिंगारियो धुलिखेल

नौलो समाचार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित १९७ पटक पढिएको
‘चारतारे झण्डा’ ले सिंगारियो धुलिखेल

धुलिखेल /  जिल्ला सदरमुकाम धुलिखेल नेपाली कांग्रेसको ‘चारतारे झण्डा’ ले सिंगारिएको छ ।

धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न असोज ५ गते शनिवार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आउने कार्यक्रमको लागि धुलिखेलका सडकका दायाँ बायाँ र विभिन्न स्थानमा ‘चारतारे झण्डा’ राखिएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाको स्वागतमा धुलिखेलका विभिन्न ४ स्थानमा स्वागतद्वार समेत राखिएको छ ।

‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको हो ।

 

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगरका पूर्व सभापति जितकृष्ण श्रेष्ठले जानकारी दिए ।

सभापति देउवाले प्रतिमा अनावरण गरेपछि र्यालीसहित धुलिखेल नगरपालिका सभाहलमा पुगेर औपचारिक समारोहलाई सम्बोधन गर्नेछन् । वी.पी. पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।

जिल्लाभरबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न सामाजिक व्यक्तित्व सहभागी हुने नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रमका जिल्लाका विभिन्न स्थानमा प्रचार प्रसार, माइकिङका साथै निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस