नेपालकै पहिलो थ्रीडी सम्मेलन र प्रदर्शनी बनेपामा हुने

नौलो समाचार संवाददाता
२०८१ आश्विन १०, बिहिबार मा प्रकाशित १४० पटक पढिएको
नेपालकै पहिलो थ्रीडी सम्मेलन र प्रदर्शनी बनेपामा हुने

बनेपा / ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजले बनेपामा थ्रीडी सम्मेलन र प्रदर्शनी गर्ने भएको छ ।

‘थ्रीडी इनोभेसन अनलिस्ड’ नाम दिइएको उक्त प्रदर्शनी र सम्मेलन नेपालकै पहिलो भएको आयोजकको दाबी छ । विभिन्न प्राविधिक प्रस्तुतिहरू, प्रदर्शनीहरू र कार्यशालाहरू हुने आयोजकले जनाएको छ ।

थ्रीडी डिजाइन, थ्रीडी प्रिन्टिङ, फिल्म मेकिङ, अग्मेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर), रोबोटिक्स, एआई लगायत क्षेत्रका विषयगत प्रस्तुति, प्रदर्शनी तथा कार्यशाला हुने आयोजक ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजका सञ्चालक विक्रम मानन्धरले जानकारी दिए ।

नेपालका प्रख्यात प्रविधि विशेषज्ञ, उद्योगका अगुवा र नवप्रवर्तनकर्ताहरूले थ्रीडी प्रविधि, यसको भविष्य, र यसका अवसरहरूका बारेमा छलफल गर्नेछन् ।

थ्रीडि प्रविधि र डिजिटल ‘नवाचार’मा रुचि राख्ने विद्यार्थी, पेशाकर्मी, उद्यमी र प्रविधिप्रेमीहरूका लागि ‘अत्यन्त महत्वपूर्ण मञ्च प्रदान गर्ने’ उनले दाबी गरे । नेपालमा प्रविधि र नवाचारको विकासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको सम्मेलनको मुख्य उद्देश्य थ्रीडी प्रविधि र यसको प्रयोगहरूको बारेमा जनचेतना फैलाउनु, नयाँ पुस्तालाई नवप्रवर्तन गर्न प्रेरित गर्नु र सम्बन्धित उद्योगका पेशेवरहरूलाई एकै स्थानमा ल्याएर ज्ञान आदानप्रदानको अवसर प्रदान गर्नु रहेको उनले जानकारी दिए ।

बनेपा नगरपालिकाको अगुवाईमा हुने सम्मेलन र प्रदर्शनीमा लियो क्लव अफ बनेपा, रोट्ट्रयाक क्लव अफ बनेपा, रोट्ट्रयाक क्लव अफ पनौती, बनेपा जुनियर जेसीज, काभ्रे बहुमखी क्याम्पस लगायतका संस्थाले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस