नेपालमा नै पहिलो पटक पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’

नौलो समाचार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार मा प्रकाशित ९३ पटक पढिएको
नेपालमा नै पहिलो पटक पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’

पनौती/ पनौती आउने पर्यटकको लागि ‘हेरिटेज पासपोर्ट’ को व्यवस्था गरिएको छ । नेपालमा नै पहिलो दाबी गरिएको ‘हेरिटेज पासपोर्ट’ पनौती पर्यटन विकास केन्द्रले प्रयोगमा ल्याएको हो ।

‘पासपोर्ट’ मा पनौती नगरपालिकाबारेका विभिन्न तथ्य, ऐतिहासिक, सास्कृतिक महत्वका साथै विभिन्न स्थानबारे जानकारी र जात्रा, पर्वसहित घुम्न सकिने स्थानका साथै नक्सा पनि राखिएको छ । पनौती र आसपासका अन्य रमाइला स्थान र होमस्टेबारे जानकारी पासपोर्टमा रहेको क्युआर स्क्यान गरेर लिन सकिने केन्द्रका सदस्य रहेका फोटो पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिए ।

‘नगरमा रहेका सम्पदा, पर्यटकीय क्षेत्रको बारेमा सहजै जानकारी होस्, पर्यटकको सुझावको आधारमा थप योजना बनाउन सकियोस् भनेर हेरिटेज पासपोर्ट शुरुवात गरेका हौं,’ प्रशान्तले भने, ‘विश्वका पुराना शहरमा रहेको यो व्यवस्था नेपालमा भने पहिलो हो ।’ पनौती बसाईको क्रममा पर्यटकले सिक्न सक्ने कला र कामको बारे पनि पासपोर्टमा उल्लेख छ ।

पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले पर्यटकको सहजतासँगै बढी भन्दा बढी पर्यटक भित्राउन यसले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, केन्द्रले ‘हेरिटेज पासपोर्ट’ संंगै पनौतीबारे थप जानकारी दिन ‘हेरिटेज गाइड बुक’, ‘हेरिटेज म्याप’ तयार गरी प्रकाशन गरिएको छ । ‘हेरिटेज गाइड बुक’मा पनौतीका १२ वटै वडामा रहेका पर्यटकीय गन्तव्यका बारेमा जानकारी छ । पर्यटक एम्बुलेन्सको आवस्यकता महशुस गर्दै उनले सहयोगको लागि प्रदेश र संघ सरकारलाई अनुरोध गरे ।

विश्व पर्यटन दिवसको सन्दर्भ पारेर केन्द्रले ‘हेरिटेज पासपोर्ट’, ‘हेरिटेज गाइड बुक’, ‘हेरिटेज म्याप’ सार्वजनिक गरेको छ ।

वाग्मती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले ती सामाग्रीले पनौतीको पर्यटन विकासको लागि आधार तय भएको बताए । सास्कृतिले धनी पनौतीलाई सबैको प्रयासमा विश्वभर चिनाउन सकिने भन्दै उनले वाग्मती प्रदेशले यसमा सघाउने बताए ।

नगर प्रमुख रामशरण भण्डारीले स्थानीयको उत्साह कायमै रहे र पुरातत्व विभाग लगायतका निकायले साथ दिए पनौतीलाई छिट्टै विश्व सम्पदा सुचीमा सुचिकृत गर्न सकिने तर्क गरे । सम्पदामैत्री घर र रंगरोगनको लागि नगरपालिकाले सहकार्य गरिरहेको भन्दै उनले सम्पदा सूचीको लागि पुन नक्साकंन गर्नुपर्ने बताए । पनौतीमा पर्यटनको सम्भावना निकै भएको भन्दै उनले सरसफाई र पर्यटनमैत्री व्यवहार गर्नुपर्ने बताए ।

पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष सविन ताम्राकारले सम्पदा संरक्षणमा केन्द्रले खेलेको भुमिकाको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरे ।

पनौती पर्यटन विकास केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैंजुले ‘हेरिटेज पासपोर्ट’, ‘हेरिटेज गाइड बुक’, ‘हेरिटेज म्याप’ लगायतका उपयोगी सामाग्री प्रकाशन गरेर संस्थाले उत्कृष्ट काम गरेको बताए ।

केन्द्रका उपाध्यक्ष विकास होराजु, महासचिव सिजन सुद्धाकार लगायतले पनौतीको पर्यटन र सम्पदा संरक्षणबारे चर्चा गरेका थिए ।

पनौती पर्यटन विकास केन्द्रले सामाजिक उद्यमी अनिल चित्रकार, भित्ते चित्र निर्माण गर्ने आयुष बज्राचार्य, पनौती लायकु धिमे खलः लगायतलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस